
बेनी। जिल्ला समन्वय समितिको कार्यालय म्याग्दीद्धारा आयोजित वार्षिक समीक्षा कार्यक्रममा ३३ वटा कार्यालयले मात्र आफ्नो प्रतिवेदन प्रस्तुत गरेका छन् । ५० वटा कार्यालयलाई बोलाइएकोमा ३८ वटा उपस्थित र ३३ वटाले प्रतिवेदन प्रस्तुत हुन्। जिल्लास्थित एवं जिल्लामा कार्यक्षेत्र रहेका सबै कार्यालयहरु र स्थानीय तहलाई लक्षित गरेर आयोजित वार्षिक समीक्षा कार्यक्रम मंगलबार सम्पन्न भएको हो । कार्यक्रममा जिल्लामा सञ्चालित तथा कार्यक्षेत्र रहेकामध्ये कुल ३३ वटा कार्यालयहरुले आ–आफ्नो प्रस्तुतीकरण गरेका थिए ।
जिल्ला समन्वय समितिको कार्यालयबाट ५० वटा सरकारी, स्थानीय पालिका, संस्थान र गैरसरकारी संघसंस्थासहित ५० वटा कार्यालयहरुलाई वार्षिक समीक्षा कार्यक्रममा उपस्थितिका लागि बोलाइएको थियो । तर वार्षिक समीक्षा कार्यक्रममा बोलाइएकामध्ये जम्मा ३८ वटा कार्यालयहरु उपस्थित भई ३३ वटाले मात्रै आ–आफ्नो कार्यालयबाट गएको आर्थिक वर्ष २०८१÷०८२ मा सञ्चालित योजना तथा सम्पादन गरेका कार्यक्रमहरुको बारेमा प्रस्तुतीकरण गरेका छन् ।
कार्यक्रमका लागि पत्राचार तथा फोन सम्पर्क गरी ५० वटा कार्यालयहरुलाई बोलाइएको भए पनि ३८ वटा कार्यालयहरु उपस्थित भएर तीमध्ये ३३ वटाले आ–आफ्नो कार्यालयको प्रस्तुतीकरण गरेको जिल्ला समन्वय समिति म्याग्दीका कार्यवाहक प्रमुख डिलकुमारी खत्रीले जानकारी दिनुभयो ।वार्षिक समीक्षामा बोलाइएकामध्ये १२ वटा कार्यालयहरु अनुपस्थित रहेकोमा उनीहरुलाई पुनः पत्राचार गरेर आ–आफ्नो कार्यालयबाट सम्पादित कार्यक्रम तथा सञ्चालित योजनाहरुको बारेमा रिपोर्ट मागिने कार्यवाहक प्रमुख खत्रीको भनाइ छ ।
उहाँका अनुसार सोमबारको कार्यक्रममा सहभागी कार्यालयहरुमध्ये ११ वटा र मङ्गलवार २२ वटाले प्रस्तुतीकरण गरेका थिए । दुई दिनसम्म सञ्चालन भएको कार्यक्रम साँझ अबेरसम्म चलेर सकिएको थियो । कार्यक्रममा जिल्लास्थित सरकारी बैंकहरुलाई समेत उपस्थितिका लागि पत्राचार गरिए पनि ती बैंकहरु समेत कार्यक्रममा उपस्थित भएका थिएनन् ।असल अभ्यास आदानप्रदान गर्नेगरी आयोजित वार्षिक समीक्षामा सहभागिता जनाएर कार्यालयहरुले गतवर्ष सञ्चालित कार्यक्रम तथा योजनाको प्रतिवेदन प्रस्तुत गरेका थिए । सहभागी कार्यालयले प्रस्तुत गरेको प्रतिवेदनउपर कार्यक्रमका सहभागीहरुले जिज्ञासा र धारणा तथा सुझावहरु दिएका थिए भने छलफल समेत गरिएको थियो ।
प्रतिवेदनसहित प्रस्तुतीकरण गरेका कार्यालयहरुको योजना तथा कार्यक्रम सञ्चालन भने तुलनात्मक रुपमा सन्तोषजनक देखिएको छ । कार्यक्रममा जिल्लाका ६ वटै स्थानीय तह, जिल्ला समन्वय समितिसहित सरकारी कार्यालयहरु सहभागी भएर प्रस्तुतीकरण गरेका थिए ।यसैगरी जिल्लास्थित विभिन्न जलविद्युत आयोजनाहरु, गैरसरकारी संस्थाहरु मिलन, संगम र कदम म्याग्दीलगायत अरु संस्थानले पनि आ–आफ्नो प्रस्तुतीकरण गरेका थिए । प्रस्तुतीकरणमाथि सहभागीहरुले कतिपय सरकारी कार्यालयको बेरुजु घटेको, केहीको बढेको, पूँजीगत खर्च बढाउनुपर्ने, कार्यक्रम सञ्चालन गर्ने क्रममा जिल्लास्थित सरोकारवालाहरुसँग समन्वय तथा सहकार्य गर्नुपर्नेलगायत सुझावहरु दिएका छन् ।
जिल्लामा सञ्चालित विभिन्न कार्यालयहरुबाट सञ्चालित योजना तथा कार्यक्रमको कार्यान्वयन अवस्था, प्रगति र असल अभ्यास आदानप्रदान तथा आगामी दिनमा सुधार्ने उद्देश्यले वार्षिक समीक्षा आयोजना गरिएको थियो । कार्यक्रमको सञ्चालन जिल्ला समन्वय समिति म्याग्दीका शाखा अधिकृत अमृत सुवेदीले गर्नुभएको थियो ।