
बेनी । म्याग्दीको मंगला गाउँपालिका–२, बाबियाचौरमा मङ्गलवार बजार अनुगमन भएको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीको आयोजनामा बाबियाचौर बजार क्षेत्रमा सञ्चालित विभिन्न पसलहरु, होटल, रेष्टुरेण्ट तथा बेकरीको अनुगमन र निरीक्षण गरिएको हो । जिल्ला प्रशासन कार्यालयको आयोजना, पर्यटन तथा उद्योग कार्यालय म्याग्दी र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङको समन्वयमा मंगलाको सदरमुकाम समेत रहेको बाबियाचौर बजारमा सञ्चालित पसलहरुको अनुगमन गरिएको थियो । दैनिक उपभोग्य सामानहरुमा उपभोगको वर्तमान अवस्था पत्ता लगाएर बिक्रेता र क्रेताहरुलाई सचेत बनाउने उद्देश्यसहित बजार अनुगमन गरिएको जनाइएको छ ।
अनुगमन टोलीबाट बाबियाचौरमा सञ्चालित किराना तथा खाद्यान्न, फलफुल, भाँडा पसल, खाजाघर, चमेना गृह, होटल तथा रेष्टुरेण्ट, डेरी र बेकरीसहित कुल १६ वटा पसलहरुमा अनुमगन गरेको जनाएको छ । बाबियाचौरको प्रिती किराना पसल, हाम्रो कोसेली होटल तथा रेष्टुरेण्ट, बिएसपी फलफुल तरकारी तथा किराना पसल, आयुष भाँडा तथा किराना पसल, बबी किराना पसल, सापकोटा मिष्ठान्न तथा खाजाघर, रितिका–रिमिसा फलफुल तथा किराना पसल, दुर्गा कटेज, गिरी मंगला सप्लायर्स, चेतना चमेना गृह, रोका मिक्स पसल, अनिशा होटल एण्ड रेष्टुरेण्ट, समुन फ्रेस हाउस तथा फलफुल तरकारी पसल, अर्मन किराना तथा डेरी पसल, न्यू नमस्ते बेकरी एण्ड केकशप र कल्पना फ्रेस हाउसमा अनुगमन गरिएको थियो ।
अनुगमन गरिएको पसलहरुमा म्याद सकिएको सामानहरु बिक्री वितरण गरेको, पसल, होटल तथा रेष्टुरेण्टमा सरसफाइ नगरेको, मूल्यसूची र साईनबोर्ड नटाँसेको, दर्ता एवं नवीकरणका कागजातहरु पसलमा नराखेको, भाँडावर्तन र खाद्यान्न सामग्रीहरु एकै ठाउँमा राखेको, किचन सरसफाइ नभएको, लेबल नटाँसको सामान बिक्री तथा प्रयोग गर्ने गरेको र खानेतेल एकपटक प्रयोग गरेर लामो समयसम्म राख्दा प्रयोग गर्न नमिल्ने अवस्थामा भेटिएको जस्ता कमी कमजोरीहरु पाइएका छन् । अनुगमनको क्रममा भेटिएका कमजोरीलाई तत्कालै सुधार गरी पसलको दर्ता तथा नवीकरणका कागजातसहित तीन दिनभित्र जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन केही पसल सञ्चालकलाई निर्देशन समेत दिइएको म्याग्दीका सहायक प्रमुख जिल्ला अधिकारी अनिशा आचार्यले बताउनुभयो ।
अनुगमनको क्रममा भेटिएका तथा म्याद नाघेका दैनिक उपभोग्यलगायत सामानहरु जफत गर्नुका साथै नष्ट गरिएको जिल्ला प्रशासन कार्यालय म्याग्दीले जनाएको छ । विगतको समयमा भएको बजार अनुगमनको कारणले यसपालि भने केही सुधारका सङ्केतहरु देखिएको भए पनि अझै थप सुधार गर्नुपर्ने आवश्यकता रहेको अनुगमन टोलीले ठहर गरेको छ । अनुगमनमा म्याद सकिएका दैनिक उपभोग्य सामानहरु चिसो पेयपदार्थ, फुरनदाना, चियापत्ती, बियर, चाउचाउ, चिउरालगायत छ हजार चारसय ६५ रुपैयाँ बराबरको सामानहरु नष्ट गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङका खाद्य निरीक्षक सहन्साकुमार मेहताले जानकारी दिनुभयो ।
होटल तथा रेष्टुरेण्ट एवं किराना पसल र सामानहरुमा गुणस्तर कायम गर्नका लागि पटकपटक स्थानीय तहमा बजार अनुगमन गरी पसल सञ्चालकहरुलाई यसअघि अनुगमन टोलीले दिएको निर्देशनको पालना समेत हुन सकेको छैन । पसलहरुको समय समयमा अनुगमन गरी चुस्तदुरुस्त बनाउनुका साथै उपभोक्तालाई पनि सचेत बनाउनुपर्ने आवश्यकता देखिन्छ । यसका साथै स्थानीय तहले समेत पसलहरुको विभिन्न समयमा अनुगमन गरी व्यावसायिक तथा उपभोक्ता हकहितका बारेमा सचेतनामूलक कार्यक्रम सञ्चालनमा जोड दिनुपर्छ ।