
बेनी। म्याग्दीको मालिका गाउँपालिकाले काठमाडौं, पोखरा र बेनीमा अस्थायी रुपमा बसोबास गरेकाहरुलाई घुम्ती शिविर मार्फत सेवा उपलब्ध गराएको छ ।
गाउँपालिकाले कामाठौंमा साउन २७,२८ र २९ गतेसम्म सञ्चालित शिविरमा ७५ , पोखराको नदीपुरामा ३१ साउन र भदौ १ गतेसम्म संचालित शिविरमा एक सय ६४ जना र भदौ २ गते बेनीमा संचालित शिविरमा १५ जनाले सेवा लिएका छन् । घुम्ती शिविरमा दुई सय ५२ जना सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीहरुको नामावली नविकरण गरिएको छ । भने दुई जनाको नयाँ दर्ता भएको मालिका गाउँपालिकाको पञ्जिकरण शाखाको एम.आई.एस. अपरेटेर लालकुमारी रोका (सपना)ले जानकारी दिनुभयो । उहाँका अनुसार ,आगामी आर्थिक बर्षदेखि अस्थायी रुपमा आफू बसोबास गर्ने सम्बन्धित वडा कार्यालयबाट भत्ता नविकरण गराउनको लागि सामाजिक सुरक्षा परिचयपत्र नम्बर सहितको निस्सा समेत प्रदान गरिएको छ।
गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाको नेतृत्वमा अपरेटर रोका, अध्यक्षका स्वकीय सचिव मिम गर्बुजाको टोलीले सेवा दिनुभएको थियो । गाउँपालिकामा नाम भएपनि बजारमा बसोबास गर्ने जेष्ठ नागरिक, अशक्त, बिरामी लाभग्राहीहरुलाई बर्खामा गाउँसम्म पुग्न कष्ट, झञ्जट र दुःख हुने भएकाले जनप्रतिनिधी र कर्मचारीनै सहर झरेका हुन् ।जेष्ठ नागरिक, अशक्त र अससायहरुलाई लक्षित गरेर उनिहरु बसेकै ठाउँमा पुगेर सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीको नामावली नविकरण, जन्मदर्ता, नाता प्रमाणित र नागरिकताको सिफारिस सम्बन्धी सेवा दिएको गाउँपालिकाका गर्बुजाले बताउनुभयो ।
यसअघि धवलागिरी गाउँपालिकाले काठमाडौं, पोखरा र बेनीमा घुम्ती शिविर मार्फत बजारमा बस्ने छ सय २३ जना लाभग्राहीहरुलाई सेवा दिएको थियो ।गत आर्थिक वर्षमा मालिकाका तीन हजार एक सय ४५ जनालाई ११ करोड २४ लाख ८१ हजार दुई सय ७६ रुपैयाँ सामाजिक सुरक्षा भत्ता वितरण गरिएको थियो । सेवा, सुविधा र अवसरका लागि सहरबजारमा बसोबास गरेपनि धेरैले औपचारिक रुपमा बसाईसराई गरेका छैनन् । गत आर्थिक वर्षमा मालिकामा आठ परिवार बसाई गरेर आउँदा ३९ परिवार गएका थिए ।