दुर्गम गाउँ नामिलामा सामुदायिक स्वास्थ्य इकाइ संचालनमा आएपछि सहज

  म्याग्दी न्यूज संवाददाता

बेनी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७,नामिलामा सामुदायिक स्वास्थ्य इकाइ संचालनमा आएपछि दुर्गम गाउँका नागरिकलाई स्वास्थ्य सेला लिन सहज भएको छ । भौगोलिक रूपमा विकट र दुर्गम गाउँका नागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्ने उद्धेश्यले गत वर्षदेखि  स्वास्थ्य इकाई सञ्चालन भएपछि स्थानीयलाई आधारभूत स्वास्थ्य सेवा लिन सहज भएको हो। नामिलाका बासिन्दालाई चिमखोला र घ्याँसीखर्कमा रहेको स्वास्थ्य चौकीमा पुगेर सेवा लिन अपायक थियो। बर्खायाममा पहिरोका कारण सडक र पैदलमार्ग अवरुद्ध हुँदा स्वास्थ्य सेवाबाट वञ्चित हुनुपर्ने अवस्था थियो। एकाइबाट नामिला र कुइनेका करिब एक सय घरपरिवार लाभान्वित भएका स्थानीय मीना बुढाले बताउनुभयो ।

गाउँमा रहेको सामुदायिक भवनको कोठामा इकाइ स्थापना गरेर संचालन गरिएको छ । यसअघि चिमखोलाको पात्ले गाउँमा सामुदायिक स्वास्थ्य इकाइ सञ्चालन गरिएको थियो। एक जना अनमी खटाएर स्वास्थ्य परीक्षण, परामर्श, निःशुल्क औषधि वितरण र खोपसम्बन्धी सेवा दिने व्यवस्था मिलाइएको वडा सदस्य प्रेमबहादुर पुन बताउनुभयो । गत आर्थिक वर्षमा एकाइ परिसरमा सार्वजनिक शौचालय निर्माण भएको र यस वर्ष भवन बनाइने उहाँको भनाइ छ । नामिला, पात्लेसहित रघुगङ्गाको ठाडाखानी, कुइने मंगलेखानी, रायखोर, दर्मीजा, बादुक, राममन्दिर र मौवाफाँटमा स्वास्थ्य इकाइ स्थापना गरेर स्वास्थ्य सेवा विस्तार गरिएको छ। वडा अध्यक्ष थकबहादुर पाइजा (रिम)का अनुसार,स्वास्थ्य इकाईको भवन बनाउन चालु आर्थिक वर्षमा पाँच लाख रुपैयाँ विनियोजन भएको छ । वडास्तरका स्वास्थ्य संस्थामा पुगेर सेवा लिन अपायक पर्ने गाउँमा इकाइ स्थापना गरेर सेवा विस्तार गरिएको गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताउनुभयो। उक्त सामुदायिक इकाइको गत माघमा गाउँपालिका अध्यक्ष भण्डारीले उद्घाटन गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार