चिनियाँ पक्षसँगको भेटमा प्रधानमन्त्री ओलीको अडान : लिपुलेक नेपालको हो, भारत–चीन सम्झौतामा आपत्ति छ

  म्याग्दी न्युज संवाददाता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेक पास भएर हालै भारत र चीनबीच भएको व्यापार सम्झौतामा आपत्ति जनाएका छन् । चीन भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको सामूहिक भेटमा चीन–भारतबीचको व्यापार सम्झौतामा आपत्ति जनाउँदै लिपुलेक, लिम्पियाधुरा नेपालकै रहेको स्पष्ट पारेको https://www.lokaantar.com/story/297857/2025/8/30/politics/pm-oli-ले यो समाचार लेखेको छ ।

भ्रमणमा जानुअघि राष्ट्रपति सीसँगको एकल भेटमा सीमाको विषय उठाउने भनिएको थियो । तर, प्रधानमन्त्री ओलीले चीनको थियानजिन अतिथि गृहमा शनिबार भएको द्विपक्षीय सामूहिक भेटवार्तामै यो कुरा उठाएको भ्रमणमा सहभागी एक अधिकारीले जानकारी दिए । उनले ऐतिहासिक तथ्य र पुरानो नक्साले लिपुलेक, लिम्पियाधुरा नेपालको हो भन्ने विषय पुष्टि भइसकेको विषय रहेको स्पष्ट पारे । भारत र चीनबीच युद्ध हुँदा त्यो भूमिमा भारतले अस्थायी रूपमा फौज राख्न अनुमति मागेको र त्यही अनुरूप त्यतिबेला अनुमति दिइएको प्रधानमन्त्री ओलीले चिनियाँ पक्षलाई जानकारी गराए ।

‘त्यो भूमि भारतको होइन नेपालको हो । लिपुलेक पास हुँदै चीन र भारतबीच हालै भएको व्यापार सम्झौताप्रति हाम्रो आपत्ति छ । कुनै पनि देशको जनसंख्या र भूगोल ठुलो(सानो हुन सक्छ तर, सार्वभौम सत्ता जुनसुकै देशको बराबर हुन्छ । यो कुरा हाम्रा छिमेकीले बुझिदिनुपर्छ । चीन र भारतबीच भएको उक्त व्यापार सम्झौता फिर्ता हुनुपर्छ । त्यो फिर्ता गर्न चीन तयार हुन पर्छ’, प्रधानमन्त्री ओलीले चिनियाँ पक्षसँगको भेटमा भने ।

प्रधानमन्त्री ओलीले सीमा विवादमा कुनै पनि देशको स्वीकृतिविना कुनै सम्झौता हुन नसक्ने स्पष्ट पारे । ‘नेपालको भूमि लिपुलेक लिम्पियाधुराबारे पनि नेपाललाई थाहा नदिइकनै अरु कुनै पनि देशले नेपालको भूमिबारे सम्झौता गर्न सक्दैनन् । म यस विषयमा ध्यानाकर्षण गराउन चाहन्छु’, प्रधानमन्त्री ओलीले भने । केही समय पहिले नेपालका दुई छिमेकी राष्ट्र भारत र चीनले लिपुलेक पास हुँदै दुई देशबीचको व्यापार सम्झौता गरेका थिए । जसबारे सरकारले कूटनीतिक नोट समेत पठाएको थियो भने सदनमा समेत आवाज उठेको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार