नेपालमा युट्युब वेब ब्राउजरमा बन्द, मोबाइलमा चल्दै

  म्याग्दी न्यूज संवाददाता

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकृत नभएका सामाजिक सञ्जाल प्लाटफर्म क्रमैसँग बन्द गरिन थालेका छन् । सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको २ दिनपछि नेपालमा युट्युब पनि बन्द भएको छ । सरकारको निर्णय कार्यान्वयन गर्दै नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशन अनुसार इन्टरनेट सेवा प्रदायक संघ (आईएपान)ले नेपालमा युट्युब बन्द गरेको हो ।

युट्युब बन्द भएसँगै त्यहाँभएका म्युजिक भिडियो, फिल्म, वेबसिरिज, गीत–संगीत, समाचार, कमेडीलगायतका थुप्रै भिडियोहरू बन्द भएका छन् । आईएसपानका अध्यक्ष सुधीर पराजुलीले युट्युबका सबै आइपी एड्रेसहरू खोज्दै बन्द गर्ने प्रक्रिया सुरू भइकेको बताउनुभयो । उहाँका अनुसार अहिले वेब ब्राउजरमा युट्युबका आईपी एड्रेसहरू बन्द गरिएका छन् भने मोबाइलमा चलिरहेको छ ।

उहाँले भन्नुभयो, ‘हामीले सरकारको निर्णय र दूरसञ्चार प्राधिकरणको निर्देश मान्दै दर्ता नभएका सामाजिक सञ्जालहरूको आईपी एड्रेसहरू बन्द गर्न थालेका छौं । हिजो फेसबुक, एक्स, इन्स्टाग्राम वेब पेजमाबन्द भएका छन् भने आज बिहानदेखि वेब ब्राउजरमा युट्युब पनि बन्द छ भने मोबाइलमा बन्द हुने क्रममा छन् । ‘

पराजुलीका अनुसार, यो संवेदनशील प्राविधिक पक्ष सरकारले बुझ्नै सकेको छैन । ‘सामाजिक सञ्जाल बन्द गर्ने निर्णय राजनीतिक र प्रशासनिक तहमा भएको छ। प्राविधिक ज्ञानबिना यस्ता आदेश दिइएको छ, जसको असरबारे सरकारले अनुमानै गरेको छैन,‘ उनले भने ।

नेपालमा सामाजिक सञ्जालहरू प्रतिबन्धसँगै इन्टरनेट प्रयोगमा देखिएको असरबारे कुरा गर्दै पराजुलीले भने, ‘युट्युब ब्लक गर्दा आईपी एउटै परे जिमेल पनि बन्द हुन्छ, अनि त्यसको असर हामीले चलाइरहेको फोनले पनि आंशिक रूपमा काम नगर्न सक्छ ।‘

सामाजिक सञ्जाल बन्द भएपछि डिजिटल अर्थतन्त्र, स्टार्टअप र साना व्यवसायको अनलाइन मार्केटिङ ठप्प भएको छ भने समग्र आर्थिक सूचकहरूमा नकारात्मक प्रभाव परेको छ । कलाकारहरूले सार्वजनिक गर्न लागेको नयाँ गीत रोकेका छन् भने विभिन्न टेलिसिरियल, कमेडीलगायतका हास्यव्यङ्ग्य कार्यम्रम पनि प्रशारण हुन सकेका छैनन् । अनलाइनखबर

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार