देशैभरका कारागारबाट भागे १३ हजारभन्दा बढी कैदीबन्दी

  म्याग्दी न्यूज संवाददाता

काठमाडौं । जेन–जीको प्रदर्शनपश्चात् मंगलबार र बुधबार गरी देशका विभिन्न कारागारमा रहेका १३ हजारभन्दा बढी कैदीबन्दी भागेका छन् । उनीहरू कारागारमा तोडफोड र आगजनी गर्दै भागेका हुन् भने कतिपय ठाउँबाट कारागार प्रशासनलाई दबाब दिएर भागेका छन् । केही ठाउँमा आफैं नजाने भन्दै कारागारमै फर्किएका छन् भने केही कैदीबन्दीलाई बुधबार सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन् ।

सहकारी ठगी प्रकरणमा नख्खु कारागारमा रहेका रास्वपाका अध्यक्ष रवि लामिछानेलाई मंगलबार दिउँसो आन्दोलनकारले कारागारबाट निकालेका थिए । त्यसपछि अन्य कैदीबन्दी पनि भागेका थिए । मंगलबार राति नख्खु कारागारबाट निस्केका कैदी सुन्धारास्थित केन्द्रीय कारागार आएर तोडफोड गरेर कैदीबन्दी भगाएको सुरक्षा स्रोतले जनाएको छ । केन्द्रीय कारागारमै भुटानी शरणार्थी प्रकरणमा भद्र बन्दी गृहमा सजाय भुक्तान गरिरहेका नेता टोपबहादुर रायमाझी पनि भागेका थिए ।

यसैबीच केन्द्रीय कारागार सुन्धाराबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका टोपबहादुर रायमाझी पनि भागेका छन् । त्यसैगरी सहकारी ठगीमा पुर्पक्षमा रहेका रास्वपा सभापति रवि लामिछाने पनि नख्नु कारागारबाट निस्किएका छन् । उनलाई छुटाउन रास्वपा कार्यकर्ता मंगलबार चर्काे नाराबाजीसहित नख्खु कारागार पुगेका थिए ।

हत्या, बलात्कार, अपहरण, मानव बेचबिखन जस्ता जघन्य अपराधका कैदीबन्दीसमेत फरार हुँदा घटनाका पीडित परिवारमाथि त्रास बढेको छ । रौतहटको गौर कारागारबाट मात्रै कर्तव्य ज्यान मुद्दाकै १ सय बढी कैदी भागेका छन् । यस कारागारबाट २ सय ६० कैदी भाग्न सफल भएका छन् । कैद भुक्तान हुन दुई÷चार महिना बाँकी रहेकाले आफैं नजाने भन्दै फर्किएर पनि आएको कारागार प्रशासनले जनाएको छ । सुरुमा आन्दोलनकारी समूहको दबाबमा बाहिर जानुपरे पनि कानुनले तोकेअनुसार सजाय भुक्तान गर्ने भन्दै फर्किएको जानकारीमा आएको छ ।

गौरबाट भागेकामध्ये १३ जना बुधबार भारतको बैरगनियामा पक्राउ परेका छन् । कुल २ सय ९१ कैदीमध्ये २ सय ६० जना भागेका थिए । ३१ जना कारागारमै थिए । प्रमुख जिल्ला अधिकारी विनोद खड्काले भागेकामध्ये १३ जनालाई भारतीय सुरक्षाकर्मीले पक्राउ गरेको जानकारी गराए । ‘यताबाट भागेर सीमापारि पक्राउ गरेकालाई जिम्मा लगाउने भनिएको छ । हामी भारतीय सुरक्षा अधिकारीसँग समन्वय गरिरहेका छौं,’ उनले भने, ‘३१ जनालाई विभिन्न स्थानबाट हामीले नै नियन्त्रणमा लिएका छौं । अहिले कारागारमा ६२ कैदीबन्दी छन् ।’ कर्तव्य ज्यानजस्तो गम्भीर अपराधमा सजाय भोगका धेरै रहेकाले व्यापक खोजी गरिरहेको प्रजिअ खड्काले बताए ।

यता काठमाडौं उपत्यकाका तीन कारागारमध्ये सुन्धारास्थित केन्द्रीय कारागारबाट ३ हजार ३ सय, ललितपुरस्थित नख्खु कारागारबाट १ हजार ४ सय कैदीबन्दी भागेका छन् । डिल्लीबजार कारागारबाट छाड्न माग गर्दै बुधबार आगजनी गरेर भाग्न लागेकामा नेपाली सेनाले गेटमै रोकेर अन्यत्र सारेको थियो ।

मंगलबार साँझ प्रदर्शनकारीले आगजनी र तोडफोड गरेपछि कास्की कारागारबाट ७ सय ७३ कैदीबन्दी फरार भएका थिए । आगजनीपछि उनीहरूले बन्दीगृह फोडेर सबै कैदीबन्दीलाई बाहिर निकालेको जेलर राजेन्द्र शर्माले जानकारी गराए । ‘आगजनीपछि कारागारमा सीमित संख्यामा रहेका सुरक्षाकर्मीले नियन्त्रण गर्न सक्ने स्थिति रहेन,’ उनले भने, ‘बन्दीगृहमा क्षति पुगेको छैन तर प्रशासनिक भवन पूरै क्षतविक्षत छ ।’ उनका अनुसार कारागारमा रहेका कैदीबन्दीमध्ये ३५ महिला र २ आश्रित बालबालिका थिए । ५ सय जनाले सजाय पाएर कैद भुक्तान गरिरहेका थिए ।

बाँकी पुर्पक्षमा रहेका थुनुवा थिए । १३ भारतीय र अरू चार विदेशी मुलुकका नागरिक पनि फरार भएका छन् । फरारमध्ये २ सय २० जना जबरजस्ती करणी, १ सय ३० जना कर्तव्य ज्यान, १ सय २८ जना लागूऔषध, २४ जना सहकारी ठगी र बाँकी अन्य कसुरका कैदीबन्दी र थुनुवा थिए । आजीवन कारावासको सजाय पाएका दुई जना थिए । तीमध्ये एक जनाको कास्की अदालतले फैसला गरेको एक महिना पनि पुगेको थिएन । कारागार प्रमुख शर्माले फरार रहेकामध्ये कोही पनि सम्पर्कमा नआएको बताए ।

‘अहिले पानी, बत्ती, खाद्यान्न आपूर्ति गरिहाल्ने अवस्था छैन,’ उनले भने, ‘सम्पर्कमा आए पनि तत्काल राख्न सक्ने स्थिति छैन ।’ कारागारबाट कैदीबन्दी आआफ्नो सामान पोको पारेर निस्किएका थिए । एक जना कैदीलाई भने पोखराको बागलुङ बसपार्कबाट स्थानीयले नियन्त्रणमा लिएर कास्की प्रहरीलाई बुझाएको शर्माले बताए । कास्की प्रहरीका विभिन्न हिरासतमा रहेका १ सय ३२ आरोपी पनि मंगलबार रातिदेखि नै फरार छन् । प्रदर्शनकारीले गैह्रापाटनमा रहेको जिल्ला प्रहरी कार्यालयमा आक्रमण गरेपछि प्रहरीले कार्यालय छोडेर हिँड्नुपरेको थियो ।

उनीहरूले जिल्ला र वडा प्रहरी कार्यालय बगरमा आगजनी गरी हातहतियारसमेत लुटेका थिए । प्रहरी स्रोतका अनुसार जिल्ला प्रहरी, वडा प्रहरी बैदाम, बगर, रामबजार र इलाका प्रहरी कार्यालय डाँडाको नागमा थुनामा रहेका सबै आरोपी फरार भएका हुन् । तोडफोड गर्दै बुधबार बिहान चितवन कारागारबाट पनि ७ सय कैदीबन्दी भागेका छन् । ४० जना भने कारागारमै छन् । महोत्तरीको जलेश्वर कारागारमा रहेका ५ सय ७५ कैदीबन्दी भाग्दा एक जना मात्रै बसिरहेका छन् ।

कपिलवस्तु कारागारमा आगजनी गरी भागेका ४ सय ५९ कैदीबन्दीमध्ये ७४ जनालाई बुधबार सुरक्षाकर्मीले नियन्त्रणमा लिएको छ । बुधबार बिहान साढे ६ बजेतिर कारागारको दुई वटा ब्लकबाट ४ सय ५९ कैदीबन्दी भागेका थिए । कारागारबाट भागेर उनीहरूले कपिलवस्तु जिल्ला अदालत पुगेर आगजनीसमेत गरेका थिए । भाग्दै गरेका बेला २८ र बजारका विभिन्न ठाउँबाट ४६ गरी ७४ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी रिपेन्द्रकुमार सिंहले जानकारी गराए । भागेका कैदी फक्राउ गर्ने क्रममा कपिलवस्तु नगरपालिका–३ चौबिस हजारी पुलमा हवाई फायर पनि गरिएको थियो ।

मंगलबार बेलुकी नाराबाजी गर्दै आएको आन्दोलनकारी समूहले कारागार हाताभित्र पसेर पर्वत कारागारबाट पनि १९ कैदीबन्दी भगाएको थियो । कारागारमा रहेका ९९ मध्ये ८६ जना कैदी हुन् भने बाँकी १३ थुनुवा रहेको जेलर नवीन सुवेदीले बताए । भाग्नेमा ५ जना सहकारी ठगी, ७ जना जबरजस्ती करणी, २ कर्तव्य ज्यान, ४ जना चोरी र १ जना मानव बेचबिखन मुद्दाका कैदीबन्दी रहेको उनले बताए ।

उनका अनुसार राति ९ बजेको समयमा केही युवा नाराबाजी गर्दै कारागारमा आएर कैदीबन्दी सँगै लिएर गएका थिए । ३० जनाको क्षमता रहेको कारागारमा ९९ कैदीमध्ये एक भारतीयसहित ९५ पुरुष र ४ महिला रहेको कारागार प्रशासनले जनाएको छ ।

सुनसरीको झुम्का कारागारबाट मंगलबार राति १ हजार ५ सय ७५ जना कैदीबन्दी भागेका छन् । अन्य २ सय कैदीबन्दी भने कारागार प्रशासनको सम्पर्कमा आएका छन् । मंगलबार राति आन्दोलनकारी समूह कारागार पुगेर ब्लक ‘बी’ का कैदीलाई निकाल्नुपर्ने माग राखेपछि सबै कैदीबन्दी बाहिर निस्किएको जेलर सुभाष लामिछानेले जानकारी गराए । राति अबेरसम्म कारागारबाट सबै कैदीबन्दी बाहिरिए पनि सेनाले पक्राउ गरेका र केही आफैं फर्किएका गरी अहिले २ सय २० जना मात्रै कैदीबन्दी छन् । ब्लक ‘ए’ र ‘बी’ दुवैका चौकीकार पनि कारागारमै छन् । झुम्का कारागारमा ‘ए’ र ‘बी’ गरी १ हजार ७ सय ९५ जना कैदी थिए ।

सप्तरीको राजविराज कारागारमा बुधबार दिउँसो आगजनी गरेर कैदीबन्दी फरार भएकोे जेलर गंगा एबीले जानकारी गराए । उनका अनुसार सुरक्षाकर्मीले केही राउन्ड अश्रुग्यास हानेर रोक्न खोज्दा पनि ‘बी’ ब्लकका केही कैदीबन्दी फरार भए । ‘बी’ ब्लकमा ३ सय ९७ जना कैदीबन्दी थिए तर कति कैदीबन्दी भागेको विषय अहिले यकिन हुन सकेको छैन,’ उनले भने, ‘आगो निभाउन बारुणयन्त्र बोलाउन लागेका छौं भने कैदीबन्दीको खोजी भइरहेको छ ।’ कैदीबन्दीको खोजी गर्न र कारागार सुरक्षाका लागि सेना, सशस्त्र र नेपाल प्रहरी खटाइएको छ ।

सोलुखुम्बु कारागारमा आगजनी गरेर ८६ कैदीबन्दी भागेका छन् । सोलुखुम्बुका डीएसपी मनोजित कुँवरका अनुसार अन्य जिल्लाबाट कैदी भागेको खबर आएपछि मंगलबार सँँझपख कारागारमा तोडफोड गर्दै उनीहरू भाग्न सफल भएका हुन् ।

पाँच सयको हाराहारीमा रहेका कैदीबन्दी सिन्धुली कारागार तोडफोड र आगजनी गरेर भागेका छन् । गेट तोडेर बैतडी कारागारबाट भागेका ६२ मध्ये ६ जना सम्पर्कमा आएका छन् । मकवानपुरको भीमफेदी कारागारबाट २ सय ६० कैदीबन्दी पर्खाल भत्काएर भागेका छन् ।

बाँके कारागारबाट ४ सय ३६ कैदीबन्दी फरार भएका छन् । कारागारमा रहेका ५ सय ८५ कैदीमध्ये १ सय ४९ जना मात्रै भित्र रहेको कारागार प्रशासनले जनाएको छ ।

कैलाली कारागारबाट भागेका ६ सय १२ जना कैदीबन्दीमध्ये अहिलेसम्म एक जनालाई मात्र सेनाको टोलीले पक्राउ गरेको जनाएको छ । डडेलधुरा कारागारबाट भागेका ८५ कैदीमध्ये सुरक्षाकर्मीले ३२ जनालाई पक्राउ गरेको छ । कञ्चनपुर कारागारबाट मंगलबार भागेकामध्ये २१ कैदीबन्दी फर्किएका छन् । कारगारका प्रमुख रामदत्त जोशीका अनुसार सम्पर्कमा आएकामध्ये ९ भारतीय नागरिक हुन् । २६ महिलासहित ४ सय ७८ कैदीबन्दी रहेको कारगारबाट २३ जनाबाहेक सबै कैदीबन्दी भागेका थिए । जेलर जोशीका अनुसार फर्किएकामध्ये केहीलाई नेपाल भारत सीमा नाकाबाट पक्राउ गरिएको हो भने केही आफैं सम्पर्कमा आएका हुन् ।

रुकुम पश्चिम कारागारबाट ७२, दाङ तुलसीपुर कारागारबाट १२४ जना भागेका छन् भने १६ जना नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । सोलुखुम्बु, जुम्ला, म्याग्दी, तनहुँलगायत कारागारबाट पनि कैदीबन्दी भागेका छन् । कारागार व्यवस्थापन विभागका महानिर्देशक लीलाप्रसाद शर्माले कुन कारागारबाट कति कैदीबन्दी भागे भन्ने विवरण संकलन भइरहेको बताए ।

जिल्ला कारागार धादिङका कैदीबन्दी भाग्न खोजेपछि नेपाली सेनाले गोली चलाउँदा दुई जनाको मृत्यु भएको छ । सात कैदीबन्दी घाइते भएका छन् । घाइतेहरू सबैलाई उपचारका लागि काठमाडौं लगिएको छ ।

सेनाका अनुसार कैदीबन्दीले सुरक्षा घेरा तोडेर निस्किन थालेपछि सेनाले गोली चलाएको हो । घटनामा नेपाल प्रहरी र सशस्त्रका सात जना घाइते भएका छन् । घाइते प्रहरी सबैको अवस्था सामान्य छ ।

मंगलबार नक्खु कारागारबाट अन्य कैदीबन्दी छाडेको भन्दै आफूहरूलाई पनि रिहा माग गर्दै कैदीबन्दीले कारागारमा आगजनी गरेका थिए । गोली चलाउनुअघि सेनाले पानीको फोहोरा प्रयोग गरेर स्थिति नियन्त्रणमा लिने कोसिस गरेको थियो । उनीहरूले सेनामाथि नै आक्रमण गर्न थालेपछि सेनाले गोली चलाएको हो । जिल्ला कारागार धादिङमा २ सय ४३ कैदीबन्दी छन् । त्यसमध्ये महिला ९ जना छन् ।कान्तिपुरबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार