प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त, शपथग्रहण आजै

  म्याग्दी न्यूज संवाददाता

काठमाडौं । राजनीतिक सहमति जुटेसँगै पूर्वप्रधानन्यायाधीश सुशिला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त हुनुभएको छ । उहाँको शपथ आज ९ बजे हुने भएको छ । राष्ट्रपतिका सल्लाहकार किरण पोखरेलले सो जानकारी दिनुभएको हो ।

राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री पदमा नियुक्ति गर्नुका साथै आजै शपथ ग्रहणको कार्यक्रम राखिएको छ । नेपाली राजनीतिक इतिहासमा कार्की पहिलो महिला प्रधानमन्त्री हुनुहुन्छ । जेन जेड आन्दोलनकारीको प्रतिनिधित्व गर्दै उहाँ सरकारको नेतृत्व गर्दै हुनुहुन्छ । यससम्बन्धी विस्तृत विवरण आउन बाँकी छ ।

को हुन सुशीला कार्की
सुशीला कार्की नेपालको पहिलो महिला प्रधानन्यायाधीश हुनुहुन्छ । उहाँले २०७३ साल असारदेखि २०७४ जेठसम्म सर्वोच्च अदालतको नेतृत्व गर्नुभएको थियो । इमानदार, निष्पक्ष र साहसी न्यायाधीशका रूपमा चिनिने कार्की भ्रष्टाचारविरुद्ध कठोर निर्णय गर्ने र न्यायपालिकाको स्वतन्त्रता कायम राख्ने व्यक्तित्वको रूपमा परिचित हुनुहुन्छ । निडर स्वभाव र सरल जीवनशैली अपनाउने कार्की न्याय क्षेत्रमा स्वच्छ छविका रूपमा स्थापित व्यक्तित्व हो ।

उहाँको कार्यकालमा विभिन्न ठूला मुद्दाहरूमा ऐतिहासिक फैसला भएका थिए । जसमा आमाको नामबाट नागरिकता लिन पाइने आदेश, ठूला राजनीतिक व्यक्ति विरुद्धका भ्रष्टाचार मुद्दामा कठोर निर्णय र तत्कालीन कांग्रेस सांसद मोहम्मद अफताब आलमलाई इँटाभट्टामा हालेर हत्या गरेको आरोपमा पक्राउ गरी अनुसन्धान अघि बढाउन दिएको आदेशलगायत छन् ।

कार्कीमाथि राजनीतिक शक्तिहरूले महाभियोग प्रस्तावसमेत ल्याएका थिए तर न्यायिक स्वतन्त्रताप्रतिको जनसमर्थनका कारण त्यो प्रस्ताव अघि बढेन । उहाँले आफ्नो कार्यकालमा जनतामाझ न्यायपालिकाको छवि पुनर्स्थापित गर्ने महत्वपूर्ण योगदान दिनुभएको छ । गोरखापत्र अनलाइनबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार