म्याग्दी । म्याग्दीको बेनी–दरबाङ सडक अवरुद्ध बनेको छ । गएराति परेको अविरल वर्षासँगै विभिन्न ठाउँमा खसेको पहिरोको कारण सडक अवरुद्ध बनेको हो । जिल्ला प्रहरी कार्यालय म्याग्दीका सुचना अधिकारी प्रहरी निरिक्षक सागर पौडेलका अनुसार ,बेनी–दरबाङ सडक खण्ड अन्तर्गत बेनी नगरपालिका र मङ्गला गाउँपालिकाको सिमानामा पर्ने फापरखेत पहिरोमा खसेको पहिरो र मङ्गला गाउँपालिकाको वडा नम्बर २ स्थित लाम्पाटा पहिरोमा खसेको पहिरोको कारण सडक अवरुद्ध बनेको हो ।
पहिरोले सडक अवरुद्ध बनेपछि यात्रु र यातायात व्यवसायीले सास्ती व्यहोर्नु परेको दरबाङका तिलक ढकालले बताउनुभयो ।दुई दशक भन्दा पुरानो फापरखेत पहिरोमा हिउँदमा पनि सुख्खा पहिरोको कारण पनि पटकपटक सडक अवरुद्ध हुने गरेको छ । लामो समयदेखि रोकिएको लाम्पाटा पहिरोमा यस वर्षदेखि पुनः पहिरो खस्न थालेको छ । शनिबार पहिरो पन्छाएर अवरुद्ध सडक सुचारु गरिने बताइएको छ ।

























