मिलन म्याग्दीको अध्यक्षमा राना

  म्याग्दी न्यूज संवाददाता

बेनी ।म्याग्दीमा क्रियाशील गैरसरकारी संस्था मिलन म्याग्दीको अध्यक्षमा तिलकुमारी राना सर्वसम्मत निर्वाचित हुनुभएको छ । संस्थाको शनिवार म्याग्दी सदरमुकाम बेनीमा सम्पन्न २१औं वार्षिक साधारणसभा तथा १२औं अधिवेशनबाट रानाको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको हो ।

अधिवेशनबाट संस्थाको निवर्तमान अध्यक्षमा दिलमाया बिटालु, उपाध्यक्षमा मिना राम्जाली, सचिवमा बालकुमारी पुन, कोषाध्यक्षमा ज्ञानुकुमारी बानियाँ केसी र सहसचिवमा चन्द्रकला बानियाँ केसी निर्वाचित हुनुभएको निर्वाचन मण्डलका सदस्य विनय श्रेष्ठले बताउनुभयो । यसैगरी कार्यसमिति सदस्यहरुमा चित्रनाथ आचार्य, सरिता बानियाँ खड्का, कमलाकुमारी विश्वकर्मा र रामबहादुर खड्का निर्वाचित हुनुभएको छ ।

 

यसअघि अधिवेशनको उद्घाटन गर्दै जिल्ला समन्वय समिति म्याग्दीका कार्यवाहक प्रमुख डिलकुमारी खत्रीले जिल्लाको सामाजिक क्षेत्रमा मिलन म्याग्दीले महत्वपूर्ण योगदान पु¥याएको बताउनुभयो । उहाँले पछिल्लो समय बाहिरी सहयोग प्राप्त नभएको अवस्थामा पनि स्वयंसेवी रुपमा मिलन म्याग्दीमार्फत सामाजिक परिचालनको साथै समुदायस्तरमा विभिन्न खालका सचेतनामूलक कार्यक्रमहरु सञ्चालन भैरहेकोमा प्रशंसा गर्नुभयो ।

 

जिल्लास्थित स्थानीय तह तथा सरोकारवाला निकायसँगको समन्वय र सहकार्यमा मिलन म्याग्दीले विविध क्षेत्रमा काम गरिरहेको बताउँदै कार्यवाहक प्रमुख खत्रीले समुदायस्तरमा सञ्चालित कार्यक्रमहरुको अब संस्थाले अनुगमन तथा निरीक्षण गर्नुपर्नेमा जोड दिनुभयो । सोही कार्यक्रममा मिलन म्याग्दीका पूर्वअध्यक्ष एवं अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष दिवाकुमारी तिलिजा पुनले मिलन म्याग्दीले स्थापनाकालदेखि नै जिल्लामा शिक्षा, स्वास्थ्य, जीविकोपार्जन, झोलुङ्गे पुल तथा सामुदायिक वनलगायत क्षेत्रमा काम गरेको बताउनुभयो ।

पूर्वअध्यक्ष पुनले मिलन म्याग्दीले विगतदेखि हालसम्म समाज परिवर्तन तथा रुपान्तरण लगायतका कार्यक्रमहरु सञ्चालन गरी समाजको दीगो विकासमा सहयोगी भूमिका खेलेको स्मरण गर्नुभयो । मिलन म्याग्दीका अध्यक्ष दिलमाया बिटालुले मिलन संस्थालाई सहयोग गरेर यहाँसम्म ल्याइपु¥याउने दातृ निकाय, संघ तथा प्रदेश सरकार, स्थानीय तह, सरोकारवाला निकायलगायत सबैलाई धन्यवाद दिनुभयो ।

 

कार्यक्रममा मिलन म्याग्दीका सल्लाहकार एवं कृषि वैज्ञानिक डाक्टर टिकाबहादुर कार्की, संस्थापक सदस्य अमर बानियाँ र पूर्व सचिव तथा आजीवन सदस्य भविराम किसानले मन्तव्य व्यक्त गर्दै मिलन म्याग्दीले जिल्लाको सामाजिक क्षेत्रमा पु¥याएको योगदानबारे चर्चा गर्नुभएको थियो । कार्यक्रमको अवसरमा संस्थाका पूर्व अध्यक्ष कमला बानियाँ थापा र स्वयंसेवा गरी संस्थालाई अमूल्य सहयोग पु¥याउनुहुने बालकुमारी पुन, छवि पूर्जा पुन, रामबहादुर खड्का, हिरा बरुवाल र चन्द्रावती खत्रीलाई प्रशंसापत्रसहित सम्मान गरिएको थियो ।

 

यसैगरी संस्थाका सल्लाहकारहरु डा. टिकाबहादुर कार्की, ठहरबहादुर भण्डारी र डा. हेमा छन्त्याललाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । सोही अवसरमा नयाँ सदस्यहरुलाई संस्थाको साधारण सदस्यताको प्रमाणपत्र समेत वितरण गरिएको थियो । उद्घाटनसत्रमा संस्थाका निवर्तमान अध्यक्ष दिलमाया बिटालुले भावी कार्यक्रमसहित कार्ययोजना र उपाध्यक्ष तिलकुमारी रानाले प्रगति एवं आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उद्घाटनसत्रको कार्यक्रम संस्थाका अध्यक्ष बिटालुको अध्यक्षता, उपाध्यक्ष रानाको सञ्चालन र सहसचिव बलबहादुर विश्वकर्माको स्वागतमा सम्पन्न भएको थियो ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार