
काठमाडौं ।नेपाल र यूएईबीच आइतवार भएको एउटा महत्त्वपूर्ण खेलमा नेपालले बाजी मारेको छ।आईसीसी टी-२० विश्वकप एशिया तथा पूर्वी एशिया प्यासिफिक छनोट प्रतियोगिताअन्तर्गत सुपर ६ को एउटा कठिन खेलमा नेपालले चिर प्रतिद्वन्द्वी युएईलाई एक रनले पराजित गरेको हो।
ओमान क्रिकेट एकेडेमी टर्फ १ मैदानमा टस जितेर पहिले ब्याटिङ गर्दै ६ विकेटको क्षतिमा नेपालले १४० रन बनायो भने जबाफमा यूएईलाई १३९ रनमा रोक्न सफल भयो।जितसँगै नेपालले सुपर सिक्समा महत्त्वपूर्ण २ अङ्क जोडेको छ। योसँगै नेपालको ४ अङ्क पुगेको छ।
ओमानको पनि समान अंक छ। यूएईको भने दुई अंक छ।
यूएईलाई अन्तिम ओभरमा १० रन चाहिएको थियो। तर, दीपेन्द्रसिंह ऐरीले ९ रन दिँदै एक विकेट लिए। बाँकी दुई ब्याटर रन आउट भए।
यूएईका अलिसान सराफुले सर्वाधिक ५८ रन बनाए। ४० बल खेलेका उनले ३ चौका र ५ छक्का प्रहार गरे। जोनाथन फिगी १९, धुर्व परासर ३२ र जाहिद अली ११ रनमा आउट भए।
नेपालका दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ३ विकेट लिए। ४ ओभर बलिङ गरेका उनले २२ रन खर्चिए। सोमपाल कामी, गुलसनकुमार झा र सन्दीप लामिछानेको नाममा समान १ विकेट रह्यो।
त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको नेपालले ६ विकेट गुमाउँदै १४० रन बनाएको थियो।
नेपालका ओपनर आसिफ शेखले सर्वाधिक ५१ रन बनाए। ४७ बल खेलेका उनले ४ चौका र १ छक्का प्रहार गरे। टी–२० आईमा उनको यो नवौं अर्धशतक हो।
अर्का ओपनर कुशल भुर्तेलले २६ बलमा समान २ चौका र छक्कासहित २८ रन बनाए। यी दुईबीच पहिलो विकेटका लागि ५६ रनको साझेदारी भएको थियो।
कप्तान रोहितकुमार पौडेल २०, गुलसनकुमार झा १४ र कुशल मल्ल १० रनमा आउट हुँदा अन्यको ब्याट चल्न सकेनन्।
यूएईका मुहम्मद रोहिद, हैदर अली, हर्षित कौशिक, जुनैद सिद्दिकी, जाहिद अली र धुर्व परासरले समान एक विकेट लिए।