बेनी नगरपालिकामा अन्तर विद्यालयस्तरीय छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु( तस्बिरहरु)

  म्याग्दी न्युज संवाददाता

बेनी । ‘शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधार ः स्वच्छ, समृद्ध बेनी नगरको मूल आधार’ र ‘खेल स्वास्थ्यका लागि, खेलाडी राष्ट्रका लागि’ भन्ने नारासहित छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । म्याग्दीको बेनी  नगरपालिकाको आयोजनामा बिहीबारदेखि सदरमुकाम बेनीमा छैंटौँ संस्करणको प्रतियोगिता सञ्चालन गरिएको हो ।

नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालयको तत्वावधान र राष्ट्रिय खेलकुद परिषद्को संयोजकत्वमा स्थानीय तहस्तरीय प्रतियोगिता आयोजक समितिद्वारा सञ्चालित अन्तर विद्यालयहरुबीच प्रतिसर््पर्धा हुने छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा नगरपालिका भित्रका विभिन्न २७ वटा विद्यालयहरुले सहभागिता जनाएका छन् । जसमा सामुदायिक विद्यालयतर्फ २० र संस्थागततर्फ ७ वटा विद्यालयको सहभागिता रहेको छ ।

एथ्लेटिक्स, भलिबल, मार्सलआर्ट र कबड्डीसहित चारवटा विद्यामा कुल ६६ स्वर्णपदकका लागि विद्यालयहरुको बीचमा प्रतिसर््पर्धा सुरु भएको छ । एथ्लेटिक्स विधातर्फ १ सय, २ सय, ४ सय, ८ सय, १५ सय, ३ हजार मिटर दूरीको दौड तथा चारचार जनाको बीचमा १ सय र ४ सय मिटरको रिलेदौड प्रतियोगिता आयोजना गरिएको छ । यसैगरी हाईजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिन थ्रो, सटपुट तथा छात्रछात्राको भलिबल प्रतियोगिता हुने आयोजकले जनाएको छ ।

त्यस्तै मार्सलआर्ट विद्याअन्तर्गत तेक्वान्दो, कराँते र उसु खेलमा प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको औपचारिक उद्घाटन हुनुपूर्व सहभागी विद्यालयहरुबीच मार्चपास समेत गरिएको थियो । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन खेलअन्तर्गत १५ सय मिटरको छात्र र छात्राको दौड प्रतियोगिता सम्पन्न भएको छ । छात्रतर्फको प्रतियोगितामा न्यू वेष्ट प्वाइन्ट आवासीय माविका सक्षम बोहोरा प्रथम, प्रकाश माविका विपिन कार्की द्वितीय र जामुनाखर्क माविका मन्जिल विक तृतीय तथा छात्रातर्फ राष्ट्रिय मावि नेप्टेचौरकी अञ्जली खत्री प्रथम, प्रकाश मावि बेनीकी अञ्जली स्रिपाली द्वितीय र दिपक मावि पात्लेखेतकी रितिका घताने तृतीय भई पुरस्कार पाएका छन् ।

शनिवार सम्पन्न हुने प्रतियोगितामा प्रथम हुने विद्यालयले रनिङ शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्रको साथमा नगद ५१ हजार, द्वितीय र तृतीयले क्रमशः नगद ४० हजार तथा ३० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने बेनी नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले जनाएको छ । प्रतियोगिताको उद्घाटन गर्दै जिल्ला समन्वय समिति म्याग्दीका कार्यवाहक प्रमुख डिलकुमारी खत्रीले विद्यार्थी खेलाडीको पसिना देशको गौरव र जोश भविष्यको प्रेरणा भएको बताउनुभयो । उहाँले अनुशासनपूर्वक उत्कृष्ट खेल प्रदर्शन गर्न खेलाडीलाई सुझाव दिनुभयो ।

बेनी नगरपालिकाका नगर उपप्रमुख ज्योति लामिछानेले खेलकुद प्रतियोगितामा छात्रछात्रा दुवैको समान सहभागिता भएमा लैङ्गिक हिंसा न्यूनीकरणमा विद्यालय तहबाटै सहयोग पुग्ने बताउनुभयो । म्याग्दीका प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारीले प्रतियोगिताका अफिसियलहरुले दिएको निर्देशनहरुलाई पूर्ण रुपमा पालना गरेर खेल प्रदर्शन गर्नसके प्रतियोगिताको उद्देश्य पूरा हुने बताउनुभयो ।

 

बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्मा र जिल्ला खेलकुद विकास समिति म्याग्दीका अध्यक्ष सुमन श्रेष्ठले सहकार्यको भावना विकास गराउन, खेलकुदमैत्री वातावरण निर्माण र विद्यार्थी तथा युवाहरुको खेल क्षेत्रमा आकर्षण बढाउन राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताहरुले सहयोग पु¥याउनेमा जोड दिनुभयो । कार्यक्रमको समापन गर्दै बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसीले खेलकुद क्षेत्रको विकासमा आवश्यक पहल गरिएको बताउँदै विवादरहित तरिकाले प्रतियोगिता सम्पन्न गराउन सबैको भूमिका आवश्यक हुने उल्लेख गर्नुभयो ।

 

बेनी नगरपालिकाको सामाजिक विकास समिति संयोजक चक्र केसीले मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रम शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख क्षेत्रबहादुर भण्डारीको स्वागत र शिक्षा अधिकृत कमलप्रसाद ढकालको सञ्चालनमा उद्घाटनसत्र सम्पन्न भएको थियो । कार्यक्रममा बेनी सामुदायिक माविका कलाकारहरुले स्वागत नृत्य प्रस्तुत गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार