म्याग्दी । आगामी फागुन २१ गतेका लाति घोषणा भएको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि हिमाली जिल्ला म्याग्दीमा पाँच सय ८१ जनाले मतदाता परिचयपत्र लागि नाम दर्ता गराएका छन् । निर्वाचन कार्यालय म्याग्दीका सूचना अधिकारी गोविन्द थापा (सन्देश)का अनुसार , असोज १० गतेदेखि नामावली सङ्कलन र अद्यावधिक कार्य सुरु भएकामा बिहिबारसम्म तीन सय ६८ जना पुरुष र दुई सय १३ जना महिला गरी पाँच सय एकासी जनाको नाम दर्ता भइसकेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचन लक्षित फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गर्नेको सङ्ख्या म्यागदीमा पनि उत्साहजनक रहेको पाइएको छ ।
नयाँ मतदाता नामावली सङ्कलनसँगै हालसम्म २८ मतदाता नामावलीको क्रुटि सच्चाइएको छ भने ठाँउसारी ८२ जनाको गरिएको छ । विवाह दर्ता र बसाइँसराईका आधारमा मतदान केन्द्र स्थानान्तरण (ठाउँसारी) गरिएको हो । जिल्ला निर्वाचन कार्यालय म्याग्दीमा दैनिक ३० देखि ८० जनासम्म नयाँ मतदाता थपिएको निर्वाचन कार्यालयले जनाएको छ ।निर्वाचन अधिकृत बिमल गौतमका अनुसार , नाम दर्ता गराउनेमा अधिकांश २५ वर्षमुनिका धेरै भएपनि बैदेशिक रोजगारीबाट फर्किएकाहरु समेत धमाधम आउन थालेका छन् । कात्तिक ३० गतेसम्म नयाँ मतदाता नामावली सङ्कलन भएकोले दैनिक चाप बढेको उहाँले बताउनुभयो । म्याग्दीमा २०७९ सालमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा ८६ हजार १२० जना मतदाता रहेका म्याग्दीमा निर्वाचन आयोगले पछिल्लो पटक असोज ८ गते सार्वजनिक गरेको मतदाता नामावली विवरणअनुसार मृत्यु, बसाईसराई, दोहोरोन नामाबली भएका १६ सय मतदाता घटाएर ८४ हजार ५२० जना कायम भएको छ ।


























