गलेश्वर । म्याग्दीको धार्मिक पर्यटकीय स्थल गलेश्वरमा बालाचतुर्दशी मेला तथा विविध खेलकुद प्रतियोगिता संचालन हुने भएको छ । गलेश्वर शिव युवा क्लबको आयोजनामा मंसिर ४ देखि १० गतेसम्म संचालन हुने खेलकुद प्रतियोगिताको उद्घाटन निवर्तमान ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजा ‘खम्बिर’ले गर्नुहुनेभएको छ। कार्यक्रममा उक्त दिन बिभिन्न समुहका सांस्कृतिक नृत्य प्रस्तुती रहने आयोजकले जनाएको छ ।
बाला चतुर्दशी मेलालाई निरन्तरता दिँदै थप आकर्षण बढाउन हरेक वर्ष विविध खेलकुद प्रतियोगिताहरुको आयोजना गरिँदै आएको छ । प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको गलेश्वर शिव युवा क्लबका अध्यक्ष अमित पुनले जानकारी दिनुभयो । उहाँले पुरानो मेलालाई शान्तिपुर्ण भव्य रुपमा सम्पन्न गर्न सहयोग गर्न सबैलाई अपिल गर्नुभएको छ । वडा स्तरिय पुरुष बास्केटबल, प्रौढ भलिबल, महिला भलिबल, पुरुष भलिबल प्रतियोगिता र खुल्ला नृत्य प्रतियोगिता समेत संचालन हुने मेला संयोजक लोकेन्द्र खड्काले बताउनुभयो ।
बिहिबारदेखी प्रतियोगितामा भाग लिन चाहने टिमको नाम दर्ता गरिने क्लव सचिव बचन पुनले बताउनुभयो । उहाँका अनुसार प्रतियोगितामा कुनै वडामा राष्ट्रियस्तरका खेलाडी भएमा एक जना राष्ट्रियस्तर खेलाडीको समेत समाबेश गर्न पाइनेछ । मेलालाई सफल बनाउन सह–आयोजक गलेश्वर आमा समुह, गलेश्वर टोल विकास संस्था लगायतका उप समिति गठन गरिएको छ ।

प्रतियोगितामा भलिबलको पुरुष तर्फ प्रथम पुरस्कार १,०१,१११ हजार, द्धितिय ५१,१११ हजार, महिला भलिबलतर्फ प्रथम ५१,१११ हजार, द्धितिय ३०,१११ हजार नगद सहित ट्रफिल, मेडल र प्रमाण पत्र त्यसैगरी पुरुष बास्केटबल प्रथम ७५,१११ हजार र द्धितिय ४०,१११ हजार नगद सहित ट्रफिल, मेडल र प्रमाण पत्र रहेको छ । मेला अवधिभर स्थानीय एवं राष्ट्रिय चर्चित कलाकारहरुको बिषेश सांगीतिक प्रस्तुती रहने आयोजकले जनाएको छ ।


























