प्रसिद्ध धार्मिक स्थल गलेश्वर मन्दिरमा हाई मास्ट लाइट जडान (भिडिओ)

  साधन राम्जाली/धनिलाल गर्बुजा

गलेश्वर । म्याग्दीको प्रसिद्ध धार्मिक स्थल गलेश्वर मन्दिरमा हाई मास्ट लाइट जडान गरिएको छ ।जिल्लाको  बेनी नगरपालिका -९,स्थित विश्वकै अलौकिक तिर्थस्थल गलेश्वरधाम मन्दिरमा रातको समयमा पनि मन्दिर परिसर उज्यालो सहितको  सुरक्षित र आकर्षक बनाउन जडान गरिएको लाइटको कोषका संरक्षक समेत रहनुभएका म्याग्दीका प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारीले बिहिवार साँझ  स्विच थिचेर उद्घाटन गर्नुभयो ।

जिलामै पहिलो पटक गलेश्वरमा यस्तो प्रबिधिको विद्युत लाइट जडान गरिएको हो । गलेश्वर शिवालय क्षेत्र विकास कोषाका अध्यक्ष माधवप्रसाद रेग्मीका अनुसार ,कोषको आन्तरिक स्रोतबाट ९ लाख ७४ हजार रुपियाँ खर्चेर लाइट जडान गरेको हो । बत्ति जडान पछि परिसरमा उज्यालो हुन थालेको छ । मन्दिरमा आउने भक्तजनलाई सहज बनाउन र सुरक्षा व्यवस्थापनको  दृष्टिकोणले पनि सुरक्षित बनाउन लाइट जडान गरिएको अध्यक्ष रेग्मीको भनाइ छ । उहाँले भन्नुभयो, “दोस्रो पशुपतिनाथले समेत परिचीत गलेश्वर मन्दिर दर्शनका लागि आएका भक्तजनले चढाएको भेटी लगायत आन्तरिक आम्दानी परिचालन गरेर बत्ति जडान गरिएको हो।” १६ मिटर अग्लो पोलको टुप्पोमा चार–चार सय वाट क्षमताका ८ वटा लाइट चारैतिर फर्काएर राखिएको छ। लाइट स्वचालित उपकरणद्वारा दिउँसो बन्द र राति बत्ती बल्ने व्यवस्था गरिएको छ।

 

यस वर्ष बेनी नगरपालिकासँग साझेदारी गरेर गलेश्वर बजार सौन्दर्यकरण योजनालाई निरन्तरता दिइएको कोषका सदस्य सचिव सम्मरबहादुर थापाले बताउनुभयो । उहाँका अनुसार, गलेश्वर बजार क्षेत्रलाई धार्मिक सङ्गीतमय बनाउन सात ठाउँमा स्पिकर जडान गर्ने तयारी भएको छ ।कोषका पदाधीकारी, नेपाल विद्युत प्राधिकरणको बेनी वितरण केन्द्रका प्रमुख सत्यनारायण गामी लगायत प्राविधिक र आपुर्तिकर्ता कम्पनीका प्रतिनिधीहरुको टोलीको उपस्थिति थियो ।कालीगण्डकी नदी किनार स्थित गलेश्वर शिवालय मन्दिर नौ रोपनी क्षेत्रफलमा फैलिएको एउटै चट्टानमाथि अवस्थित छ ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार