म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–९,स्थित तोरिपानी गाउँमा सामुदायिक घरबास (होमस्टे) संचालनमा आएको छ । घरबास मार्फत स्थानीयबासीलाई आर्थिक रुपमा आत्मनिर्भर बनाउन, ग्रामीण पर्यटन प्रवर्धनका लागि सयपत्री सामुदायिक घरबास समुह संचालनमा आएको हो । इको हिमाल र हेल्प अलाइन्सको सहयोग ,टान गण्डकीको सहकार्यमा संचालनमा आएको घरबासको मंगलबार एक कार्यक्रमका बीच नगर प्रमुख सुरत केसीले उद्घाटन गर्नुभयो ।

घरबासले पर्यटकीय सम्भावना बोकेको तोरीपानी गाउँको प्रवद्र्धन , स्थानीय उत्पादनको प्रवद्र्धन, रोजगारी सिर्जना र मौलिक संस्कृतिको जगेर्नामा सहयोग पुग्नेमा विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘‘टिमुर गाउँको नामले परिचित तोरीपानी गाउँको शिरमा ऐतिहासिक ढोल्ठान दरबार ,पर्यटकीय स्थल टोड्के ,धार्मिक स्थल पछै लगायत पर्यटकीय स्थलहरु छन् । होमस्टेमा आउने पाहुँनालाई स्थानीय उत्पादन ,परम्परागत मौलिक संस्कृति प्रति पनि आकर्षित गराउन आवश्यक छ ।’’ यसैगरी म्याग्दीका प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारी ,इको हिमाल अष्ट्रियाका अध्यक्ष प्रो.डा.कुट्लुगर , इको हिमालका निर्देशक नारायण ढकाल, ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले ,वडा अध्यक्ष चक्र केसी लगायतले घरबासले संचालनले ग्रामिण पर्यटन प्रवद्र्धनमा ठुलो सहयोग पुग्ने विश्वास व्यक्त गर्दै दिगो रुपमा संचालन गर्न घरबासमा आउने पाहुनाका लागि हिमालको दृश्यावलोकन मात्र नभई ग्रामीण परिवेश, पारिवारिक वातावरण, खानामा स्थानीय परिकार, मौलिक संस्कृतिको जगेर्ना , रहनसहन र पर्यटकीय गन्तव्यस्थल पुग्ने पदमार्ग लगायतलाई व्यवस्थित बनाउनुपर्नेमा जोड दिनुभयो ।

घरबास समुह सदस्य एवं घरबास संचालक सदस्य इब गिरीका अनुसार ,पहिलो चरणमा २१ जना क्षमताका पाँच वटा घरबास संचालनमा आएका छन् । उहाँका अनुसार, घरबास संचालनमा आवश्यक पुर्वाधार निर्माणका लागि इको हिमालले समुहलाई दुई लाख रुपैयाँ र पाँच जना सदस्यलाई प्रति सदस्य ७० हजार रुपैयाँका दरले सहयोग गरेको छ । समुन्द्री सतहदेखि एक हजार सात सय मिटर बढी उचाइमा अवस्थित तोरीपानी गाउँबाट धौलागिरी ,माछापुछ्रे ,अन्नपुर्ण लगायत हिमालको अवलोकन गर्न सकिन्छ ।प्राकृतिक सुन्दरता अवलोकन गर्न सकिने तोरीपानी गाउँमा आन्तरिक तथा वाह्य पर्यटकहरु भित्र्याउनका लागि स्थानीयहरु समेत जागरुक बन्न थालेका छन ।

पोखराको कालाबाङ ,लमजुङको अवलोकन भ्रमण गराउन सहयोग गरेको इको नेपालले काभ्रेपलान्चोकमा लगेर समुहलाई तालिम समेत प्रदान गरेको थियो ।सयपत्री सामुदायिक घर बास समुह अध्यक्ष सिता खत्रीका अनुसार पहिलो चरणमा जुना खत्री, रश्मी चोखाल, सुजना चोखाल, युव गिरी र जमुना क्षेष्ठको घरमा होमस्टे सुरु भएको छ ।सदरमुकाम बेनी नजिकै पर्ने पर्यटकीय सम्भावना बोकेको तोरीपानीमा घुम्न आउन पर्यटकलाई सहज बनाउन ,स्थानीय उत्पादन,रोजगारी सृजना ,आर्थिक रुपमा आत्मनिर्भर र मौलिक कला संस्कृतिको जगेर्ना गर्ने उद्धेश्यले सामुदायिक घरबास समुह संचालनमा ल्याइएको अध्यक्ष खत्रीले बताउनुभयो । पाँच वटा घरबास संचालनमा ल्याउन प्रति सदस्य करिब १२ लाख रुपैयाँ खर्च भएको छ । बेनीदेखि अर्थुङ्गे हुँदै तोरीपानी गाउँ पुग्न सकिन्छ ।



























