रघुगंगामा छैटौं रास्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु

  म्याग्दी न्युज संवाददाता

म्याग्दी ।म्याग्दीको रघुगंगा गाउँपालिका स्तरीय छैटौं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । वडा नम्बर ३ स्थित रघुगंगा माविको खेलमैदानमा शुक्रबारदेखि सुरु भएको प्रतियोगिताको निवर्तमान सङ्घीय उर्जा,जलस्रोत तथा सिंचाइ राज्यमन्त्री खमबहादुर गर्बुजा ‘खम्बिर’ले उद्घाटन गर्नुभयो । विद्यार्थीहरुमा रहेको खेल प्रतिभाको पहिचान गर्न र प्रतिस्पर्धी क्षमताको विकास गराउन प्रतियोगिताले सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । निवर्तमान राज्यमन्त्री गर्बुजाले खेलाडीहरुले समाज, राष्ट्रका लागि योगदान गर्न सक्ने भएकाले विद्यार्थी उमेरदेखि नै खेलकुदमा सक्रिय हुन आग्रह गर्नुभयो ।

गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारी,नेपाली कांग्रेसका जिल्ला उपसभापति केबी भण्डारी,रघुगङ्गा माविका प्रधानाध्यापक रमेश सिंह ठकुरी,जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुमन श्रेष्ठ लगायतले प्रतियोगिताले विद्यार्थी खेलाडीहरुमा शारिरीक, मानसिकसहित समग्र पक्षको चौतर्फी विकास गराउने बताउनुभयो ।

गाउँपालिका अध्यक्ष भबबहादुर भण्डारीले खेल क्षेत्रको विकासका लागि प्रत्येक वडा र विद्यालयमा व्यवस्थित खेल मैदान निर्माणलाई गाउँपालिकाले प्राथमिकतामा राखेर काम गरेको बताउनु भयो । उहाँले गाउँपालिकाले आयोजना गर्ने विद्यालय स्तरीय खेलकुद प्रतियोगिताले खेल क्षेत्रको विकास र खेलाडी उत्पादनमा टेवा मिलेको बताउनु भयो ।

विभिन्न १२ वटा विद्यालयले सहभागीता जनाएको प्रतियोगितामा एथ्लेटिक्स, भलिबल र कबड्डीसहित तीनवटा विद्यामा कुल ३० स्वर्णपदकका लागि विद्यालयहरुबीच प्रतिस्पर्धा सुरु भएको छ । शुक्रबार नै सम्पन्न १५ सय मिटरको छात्र दौडतर्फ अमर माविका शिव सुनार,मुक्तिधाम माविका रुपेश विक द्वितीय र ज्ञानोदय माविका आदर्श बिक तृतीय हुनुभयो । भने छात्रातर्फ मुक्तिधाम माविकी सोनिया खड्का ,अमर माविकी सुप्रिया बिक द्वितीय र महेन्द्र माविकी सुस्मा बिक तृतीय हुनुभएको छ ।

औपचारिक कार्यक्रम सुरु हुनुपूर्व विद्यालयहरुबीच भएको मार्चपास प्रतियोगितामा रघुगङ्गा मावी प्रथम ,अमर मावि द्वितीय र जनता मावी तृतीय भई पुरस्कृत भए । तीन दिनसम्म संचालन हुने प्रतियोगितामा बिजेता विद्यालयलाई नगद ६० हजार रुपियाँको साथमा रनिङ शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलराज पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार, दोस्रो र तेस्रो हुने विद्यालयलाई क्रमश: नगद ४० हजार र ३० हजार रुपियाँको साथमा ट्रफी, मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिनेछ । पहिलो पटक बिद्यार्थी खेलाडी बिमा कार्यक्रम सुरु गरेको गाउँपालिकाले दुई सय २५ जना विद्यार्थीहरुको बिमा गरिदिएको छ । विद्यार्थी र शिक्षकहरुको नृत्य समेत प्रस्तुत गरिएको थियो ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार