रघुगंगा गाउँपालिकाको छैटौँ राष्ट्रपति रनिङ शिल्ड उपाधि मुक्तिधाम माविलाई (तस्बिरहरु)

  म्याग्दी न्युज संवाददाता

म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका–३,पिप्लेमा आइतबार सम्पन्न गाउँपालिका स्तरीय अन्तर मावि विद्यालय छैटौँ रास्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि मुक्तिधाम माविले जितेको छ । रघुगंगा माविको खेलमैदानमा आइतबार सम्पन्न प्रतियोगितामा मुक्तिधाम माविले ११ स्वर्ण, चार रजत र दुई कास्य पदक हात पार्दै पुनः उपाधि उचालेको हो । उपाधि जितेसँगै मुक्तिधाम माविले ६० हजार रुपैयाँ नगद सहित रनिङ शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । यो सँगै मुक्तिधाम माविले लगातार दोस्रो पटक रनिङ शिल्ड हात पार्न सफल भएको छ ।

यसैगरी नौ स्वर्ण, आठ रजत र दुई कांस्य पदक हात पार्दै अमर मावि द्वितीय तथा चार स्वर्ण, ११ रजत र तीन कांस्य पदक जित्दै रघुगंगा मावि तृतीय भएको छ । द्वितीय र तृतीय भएका अमर मावि र रघुगङ्गा माविले क्रमशः ४० हजार र ३० हजार रुपैयाँसहित ट्रफी,मेडल र प्रमाणपत्र हात पारेका छन् ।उपाधि विजेता, उपविजेता र सान्त्वना विद्यालयहरुलाई गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारी ,उपाध्यक्ष प्रेमकुमारी पुन, प्रमुख प्रशासकीय अधिकृत कुलराज पौडेल, गाउँपालिका प्रवक्ता एवं वडा नम्बर ६ का वडा अध्यक्ष मनकुमार शेरपुजा, कार्यपालिका सदस्य होमबहादुर परियार,सहायक प्रशासकीय अधिकृत दयाराम पौडेल , शिक्षा शाखा अधिकृत नहेन्द्रबहादुर क्षत्री लगायतले पुरस्कार वितरण गर्नुभयो । एथ्लेटिक्स, भलिबल र कबड्डीसहित तीनवटा विद्यामा कूल ३० स्वर्णपदकका लागि १२ विद्यालयहरुबीच प्रतिस्पर्धा भएको थियो ।

प्रतियोगिता तीन दिनसम्म संचालन भएको थियो । कार्यक्रम अधिकृत पदम बहादुर भण्डारी र लेखा अधिकृत अर्जुन गौतमले कार्यक्रम संचालन गर्नुभएको थियो । गाउँपालिका अध्यक्ष भण्डारीले विजेता र उपविजेता विद्यालयलाई बधाई दिंदै बेनीमा हुने आगमी जिल्ला स्तरी रनिङ शिल्ड प्रतियोगितामा पनि उत्कृष्ट प्रदर्शन सहितको जितको शुभकामना व्यक्त गर्नुभयो । प्रतियोगिताको निवर्तमान संघीय उर्जा ,जलस्रोत तथा सिंचाई राज्यमन्त्री खमबहादुर गर्बुजा ‘खम्बिर’ले उद्घाटन गर्नुभएको थियो ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार