
म्याग्दी । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ म्याग्दीबाट निवर्तमान उर्जा,जलस्रोत तथा सिंचाइ राज्यमन्त्री खमबहादुर गर्बुजा ‘खम्बीर’सहित दुई जनाको नाम सिफारिस गरेको छ ।
शुक्रबार बेनी स्थित पार्टी कार्यालयमा जिल्ला कार्यसमिति, केन्द्रीय महाधिवेशन प्रतिनिधि र प्रदेश अधिवेशन प्रतिनिधिको संयुक्त बैठकले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ जिल्ला सभापति समेत रहनुभएका निवर्तमान राज्यमन्त्री गर्बुजा र कर्णबहादुर भण्डारी (केबी)को नाम सिफारिस गरेको कांग्रेस जिल्ला कार्य समिति सचिव हिराबहादुर पुनले जानकारी दिनुभयो ।
उहाँका अनुसार , प्रतिनिधिसभा समानुपातिक तर्फ त्रिलोकचन्द विश्वास विश्कर्मा, पिपला बुढा, डिल बहादुर विश्वकर्मा र बागबिर दमाईको नाम सिफारिस गरिएको छ । त्यस्तै राष्ट्रियसभा निर्वाचनका लागि पुरुषतर्फ नेत्र बहादुर महत र महिलातर्फ निर्मला श्रेष्ठको नाम सिफारिस गरी केन्द्रमा पठाएको हो ।
नेपाली कांग्रेसले राष्ट्रियसभा र प्रतिनिधिसभाको निर्वाचनको लागि उम्मेदवारको नाम सिफारिस गर्न परिपत्र गरिसकेको छ । केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको परिपत्रमा मंसिर मसान्तभित्र उम्मेदवारको नाम केन्द्रमा सिफारिस गरिसक्नु पर्नेछ ।




















































