
म्याग्दी । म्याग्दीको बेनीमा ११औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । जिल्ला खेलकुद विकास समिति म्याग्दीको आयोजनामा सञ्चालन भएको प्रतियोगिताको पूर्वराज्यमन्त्री खमबहादुर गर्बुजा ‘खम्बीर’ले उद्घाटन गर्नुभएको छ ।

प्रतियोगितामा जिल्लामा रहेका एक नगरपालिका सहित पाँच गाउँपालिकाबाट छनौट भएका विद्यार्थीहरुले सहभागीता जनाएका छन् । पालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा बिजेता बनेर छनौट भएका विद्यार्थी खेलाहरुले जिल्ला स्ततीय प्रतियोगितामा प्रतिस्पर्धा गर्न लागेका हुन् । दुई दिनसम्म सञ्चालन हुने प्रतियोगितामा ६ वटा पालिकाका करिब ४०० विद्यार्थीहरुले प्रतियोगितामा सहभागीता जनाउने आयोजकले जनाएको छ ।

छात्र र छात्रा तर्फ भलिबल, कबड्डी र एथलेटिक्सतर्फ विभिन्न विद्यामा गरी कुल ४२ स्वर्ण पदकका लागि खेल प्रतिस्पर्धा हुने जिल्ला खेलकुद विकास समिति म्याग्दीका अध्यक्ष सुमन श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार, प्रतियोगिताबाट बिजेता खेलाडीहरुलाई गण्डकी प्रदेश स्तरीय प्रतियोगितामा सहभागीताका लागि छनौट समेत गरिनेछ ।
प्रतियोगितामा प्रथम हुने पालिकालाई नगद रु २० हजारको साथमा रनिङ्ग शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र तथा द्धितीय र तृतीय हुने पालिकालाई क्रमश : नगद रु १५ हजार र १० हजारको साथमा ट्रफि, मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिने खेलकुद विकास समितिले जनाएको छ ।

प्रतियोगिताको उद्घाटन समारोहमा बोल्दै पूर्वराज्यमन्त्री गर्बुजाले खेलकुदले युवा विद्यार्थीहरुमा प्रतिस्पर्धी क्षमताको विकास गर्दै मुलुकको लागि हरेक क्षेत्रमा आबश्यक जनशक्ति उत्पादनमा सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका कार्यवहाक प्रमुख डिलकुमारी खत्री, बेनी नगरपालिकाका मेयर सुरत केसी र नेपाल पत्रकार महासंघ म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतमले पालिका स्तरमा पहिचान भएका खेलाहरुलाई जिल्ला, प्रदेश हुँदै राष्ट्रिय स्तरसम्म पुग्नका लागि रनिङ्ग शिल्ड प्रतियोगिताले सहयोग पुग्नेमा जोड दिनुभएको थियो ।


















































