निट पत्रकारिता पुरस्कारबाट पत्रकार भरत कोइराला पुरस्कृत

  म्याग्दी न्यूज संवाददाता

पोखरा । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेशले सञ्चालन गरेको ‘निट पत्रकारिता पुरस्कार’ बाट पत्रकार भरत कोइराला पुरस्कृत हुनुभएको छ । पुरस्कार स्थापनागर्ने निट डेन्टल केयर प्रालिको तेस्रो वार्षिकोत्सवका अवसरमा शुक्रबार पोखराको सिर्जनाचोकस्थित साइमन पार्टी प्यालेसमा आयोजित समारोहमा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य र निट डेन्टलका प्रबन्ध निर्देशक वीरबहादुर राना वीरेनले पत्रकार कोइरालालाई नगद २५ हजार ५५५ रुपैयाँ सहित सम्मान गरेको हो ।

(फोनिज) गण्डकीले सञ्चालन गर्ने गरी निट डेन्टलले पत्रकारिता पुरस्कारका यसै वर्ष ५ लाख रुपैयाँको अक्षयकोष स्थापना गरेको थियो । सम्मानित व्यक्तित्व अग्रज पत्रकार कोइराला हाल समाधान मिडिया ग्रुपअन्तर्गतको समाधान न्युज डटकमका सम्पादक हुनुहुन्छ ।
स्याङ्जा पुतलीबजारका कोइरालाले विसं २०५९ देखि काठमाडौंमा रहेर अन्नपूर्ण पोस्टबाट पत्रकारिता सुरु गरेका थिए । पत्रकारिता तथा आमसञ्चार विषयमा स्नातकोत्तर गरेका कोइरालाले विसं २०६५ देखि पोखरालाई कर्मथलो बनाएर सक्रिय हुनुहुन्छ । उहाँले यसअघि पोखरा आर्थिक पत्रकारिता पुरस्कार र गजेन्द्र भण्डारी पत्रकारिता पुरस्कार प्राप्त गरिसकेका छन् ।

कार्यक्रमको उद्घाटन गर्दै मेयर आचार्यले आदिवासी जनजाति पत्रकार (फोनिज)ले स्थापना गरेको पुरस्कारबाट अन्य समुदायका पत्रकारलाई सम्मान गरी फोनिजले समावेशीताको सन्देश दिएको बताउनुभयो । फोनिज गण्डकी अध्यक्ष खीमा गुरुङको अध्यक्षता, उपाध्यक्ष धनबहादुर  गुरुङ (सुमन)ले स्वागत र महासचिव सुरज थापा मगरको सञ्चालनमा कार्यक्रम सम्पन्न भएकोथियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार