
पोखरा । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) संघीय समितिको तेस्रो पूर्ण बैठक ११ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । पोखराको कालाबाङ सामुदायिक होमस्टेमा सम्पन्न बैठकले नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्षको टुंगो लगाउनेगरी अध्ययन समिति गठनको पुनः माग गरेको छ ।

संघीय अध्यक्ष लक्की चौधरीको अध्यक्षता पुस ४ र ५ गते बसेको बैठकले घोषणापत्र जारी गर्दै नेपाल पत्रकार महासङ्घविरुद्ध देशव्यापी आन्दोलन गर्ने तयारी गरेको छ । बैठकले नेपाल पत्रकार महासङ्घको महाधिवेशनले दिएको म्यान्डेटअनुसार संस्थापक अध्यक्ष सत्यनारायणबहादुर श्रेष्ठसम्बन्धी विषयमा उच्चस्तरीय अध्ययन समिति गठन नगरेकोप्रति गम्भीर आपत्ति जनाएको छ । उक्त प्रक्रिया तत्काल अघि नबढाइए चरणबद्ध देशव्यापी आन्दोलनमा उत्रिने चेतावनी फोनिजले दिएको छ ।

बैठकले फोनिजकर्मीका लागि राष्ट्रिय कार्यशाला, जिल्ला अध्यक्षहरूको राष्ट्रिय भेला, मातृभाषा पत्रकारितासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन, पत्रकार क्षमता अभिवृद्धि कार्यक्रम तथा फेलोसिप कार्यक्रमलगायत विविध कार्यक्रम सञ्चालन गर्ने निर्णयसमेत गरेको महासचिव समीर बलामीले बताउनुभयो।
२६ वर्षअघि स्थापना भएको फोनिजमा देश तथा विदेशमा गरी ९७ वटा शाखा छन् । फोनिजमा कुल ४ हजार ५ सय ६४ जना आदिबासी पत्रकार आवद्ध रहेका छन् । गोरखापत्र अनलाइन




















































