
म्याग्दी । निर्माण व्यवसायीको चरम लापरबाही र कार्यान्वयन गर्ने सम्बन्धित कार्यालयको बेवास्ताका कारण यहाँ निर्माणाधिन एक सडकको कालोपत्र उप्किन थालेको छ । म्याग्दीको बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडकमा कालोपत्र गरिएको केही महिनामै उप्किँदा उक्त खाल्डाखुल्डी बनेका छन् ।यात्रु तथा मालबाहक सामान बोकेर साना सवारीसाधन, ट्याक्टर गुड्ने भएपनि निर्माण ब्यवसायीको चरम लापरबाहीका कारण खाल्डाखुल्डी भएपछि स्थानीय आक्रोशित बनेका छन् । सडक डिभिजन कार्यालय बागलुङ मार्फत ‘एक निर्वाचन क्षेत्र,एक सडक’ आयोजना अन्तर्गत सञ्चालित बेनी नगरपालिका–१, रत्नेचौर देखि वडा नम्बर –२, भकुण्डे जोड्ने सडकको उपल्लाचौर–अर्जम–बिमिराबोट खण्डको सडकमा हालै डिबिएसडी प्रविधिको कालोपत्र भएको थियो ।

कालोपत्रको कमसल काम हुँदा खाल्डै खाल्डा बनेको बेनी नगरपालिका–१,का वडा सदस्य तारा प्रसाद थापाले बताउनुभयो । उहाँका अनुसार , बिटुमिनले सडकमा बिछ्याएको चिप्स नसमातेको र खाल्डै खाल्डा बनेका छन् । स्थानीयबासीले ठेकेदारको लापरबाहीले गुणस्तर र मापदण्ड अनुसारको काम नभएकोले स्थलगत अनुगमण गरी पुनःकाम गराउन दबाब दिएका छन् । बिमिराबोट–भकुण्डे–तमाने खण्डको सडकमा कालोपत्रका लागि संरचना तयार पारेर बेस र सबबेस राख्ने तयारी भएको छ ।

स्थलगत अनुगमन गरी ठेकेदारको लापरबाहीका बारेमा अनुगमन समितिले लिखित पत्र पठाउँदा समेत बेवास्ता भएको बेनपा–२, का वडा अध्यक्ष यामबहादुर क्षेत्रीले गुनासो गर्नुभयो । सात किलोमिटर सडक विस्तार, नाली, टेवा पर्खाल निर्माण, घुम्ती तथा ग्रेड सुधार गरेर कालोपत्रका लागि सञ्चालित योजनाको आधा भन्दा बढी भाग दोस्रो चरणको पनि कालोपत्र भइसकेको छ । नौ मिटर फराकिलो बनाइएको सडकमा सात मिटर चौडाईका दरले डिबिएसडी प्रविधिको कालोपत्र र ढलान गर्ने सम्झौता छ ।
बि.सं.२०५६ सालमा ट्रयाक खोलिएको यो सडक कालोपत्र योजना निर्माण गर्न बि.सं. २०७९ भदौ ६ गते गजेन्द्र–नयाँबाटो जेभीले २३ करोड ३२ लाख रुपैयाँ बजेटमा ठेक्का सम्झौता गरेको थियो । ३० महिनाको ठेक्का अवधी भएको योजनाको म्याद २०८२ फागुन महिनासम्म थप भएको छ । बेनी नगरपालिका–१, २, ३ र बागलुङ नगरपालिकाको मालिकाका बासिन्दाले प्रयोग गर्छन् । सडक डिभिजन कार्यालय बागलुङका अनुसार, हालसम्म करिब असी प्रतिशत भौतिक प्रगति भएको छ ।


















































