पत्रकार समयसापेक्ष परिवर्तन हुनुपर्छ: रजिस्ट्रार भण्डारी

  म्याग्दी न्युज संवाददाता

म्याग्दी। म्याग्दीको सदरमुकाम बेनीमा मङ्गलवारदेखि एआई प्रविधिको प्रयोग र मोबाइल पत्रकारिता सम्बन्धी विषयक तालिम सुरु भएको छ । प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखराको आर्थिक सहयोग र नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीको आयोजनामा तालिम सञ्चालन गरिएको हो ।

तालिमको उद्घाटन गर्दै गण्डकी प्रदेश सरकारका प्रेस रजिस्ट्रार बिमला भण्डारीले एआईको प्रयोगबाट आम सञ्चारमाध्यममार्फत छिटो, छरितो र गुणस्तरीय समाचारजन्य सामग्रीहरु दर्शक, स्रोता र पाठकहरुमाझ पु¥याउनुपर्ने बताउनुभयो । उहाँले एआईले निर्माण गरेका टुल्सहरुको सहयोग लिएर समाचारलेखन, तस्विर तथा भिडियो बनाउने र सम्पादनमा समेत प्रयोग गर्न सकिने बताउँदै अब पत्रकारले आफूलाई पनि परिवर्तन गर्नुपर्ने बताउनुभयो ।

नेपाल पत्रकार महासंघ जिल्ला शाखा कास्कीको निवर्तमान अध्यक्ष समेत रहनुभएकी प्रेस रजिस्ट्रार भण्डारीले अबको समय पत्रकार तथा सञ्चारकर्मीले एआईका टुल्ससँगै मोबाइल जर्नालजम्मा पनि आफूलाई अपडेट गराउनुपर्ने आवश्यकता रहेको बताउनुभयो । एआईले दिने समाचारजन्य सामग्रीहरुमा गुणस्तर कायम गर्न र प्रविधिबाट आउन सक्ने जोखिमलाई न्यूनीकरण गर्नका लागि पत्रकारहरु स्वयं आफू पनि चनाखो हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

बेनी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले प्रेस रजिस्ट्रारको कार्यालय र पत्रकार महासंघबाट आयोजित एआई सम्बन्धी तालिमले आसन्न प्रतिनिधि सभाको निर्वाचनका लागि प्रचारप्रसारमा समेत महत्वपूर्ण सहयोग पु¥याउने बताउनुभयो । जिल्ला हुलाक कार्यालय म्याग्दीका प्रमुख रमेश थापाले एआई प्रविधिको विकासले हरेक क्षेत्रमा छिटो, छरितो र आकर्षक नतिजा निकाल्ने कार्यमा समेत भूमिका खेल्ने गरेको बताउँदै पत्रकारिताको क्षेत्रमा पनि एआईको प्रयोग बढ्दै जान थालेको बताउनुभयो ।

म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले एआई र मोबाइल जर्नालिजम् बारेको तालिममार्फत जिल्लाको पर्यटन प्रवद्र्धन, प्रचारप्रसार, समय अनुसारको समाचारजन्य सामग्रीहरु उत्पादन र आम सञ्चारको गुणस्तरीयतामा सहयोग पुग्ने अपेक्षा व्यक्त गर्नुभयो । पत्रकार महासंघ म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतमको अध्यक्षता, उपाध्यक्ष अमित विश्वकर्माको स्वागत र सचिव ठाकुरप्रसाद आचार्यको सञ्चालनमा सम्पन्न उद्घाटनसत्रमा सहसचिव एवं तालिम संयोजक प्रताप बानियाँले तालिमको बारेमा जानकारी गराउनुभएको थियो ।

तालिममा अनलाईन टिभी पत्रकार संघका अध्यक्ष जीवन भण्डारीले आम सञ्चारमाध्यमहरुमा एआईको प्रयोग, यसको सान्दर्भिकता र आवश्यकता, जोखिमविरुद्ध अपनाउनुपर्ने सावधानीहरु तथा मोबाइल पत्रकारिताको विषयमा सहजीकरण गरिरहनुभएको छ । बुधवारसम्म दुई दिन चल्ने तालिममा स्थानीय तथा राष्ट्रिय सञ्चारमाध्यममा म्याग्दीबाट रिपोर्टिङ गर्दै आइरहेका पत्रकारहरु, पत्रकार महासंघ र सञ्चारिका समूहमा आबद्ध पत्रकार तथा सञ्चारकर्मीहरु लगायतको सहभागिता रहेको छ ।

पछिल्लो समय एआई प्रविधिको बढ्दो प्रयोगबारे पत्रकार तथा सञ्चारकर्मीलाई जानकारी गराउने उद्देश्यले तालिम सञ्चालन गरिएको हो । एआई प्रविधिको प्रयोग गरेर कसरी दैनिक रुपमा रिपोर्टिङको कार्यसम्पादनलाई सहज बनाउन सकिन्छ भन्ने विषय समेत तालिममा समावेश गरिएको छ । पत्रकारितामा एआईको प्रयोगबाट समाचारलेखन तथा फोटो र भिडियो बनाउने टुल्सहरुको प्रयोगका बारेमा समेत सहजीकरण भैरहेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार