म्याग्दी। म्याग्दीको मालिका गाउँपालिका–६ ,दरवाङका सुजन गौतमले अमेरिकाको ‘अलाबाबा’ राज्यमा रहेको ‘युनिभर्सिटी अफ अलाबामा इन हन्ट्सभिलबाट’ अन्तरिक्ष विज्ञान विषयमा विद्यावारिधि उपाधि हाँसिल गर्नुभएको छ ।

गौतमले पृथ्वीनजिक हुने सौर्यवायुको चक्र र अन्तरग्रहीय झट्काको प्रभाव शिर्षकमा अनुसन्धान गरी विद्यावारिधी हाँसिल गर्नुभएको हो । उहाँको अनुसन्धान सूर्यबाट निस्कने सौर्य वायु र त्यसमा हुने अस्थिरता, तथा सौर्यवायुमा हुने झट्काले अन्तरिक्ष वातावरणमा पार्ने प्रभावसम्बन्धी गहिरो वैज्ञानिक विश्लेषणमा केन्द्रित रहेको छ ।
विश्वविद्यालयमा रहेको अन्तरिक्ष विज्ञान विभाग तथा अमेरिकाको प्रतिष्ठित अनुसन्धान केन्द्र ‘सेन्टर फर स्पेस प्लाज्मा एण्ड एरोनमिक रिसर्च’ मा विश्वप्रसिद्ध वैज्ञानिक प्रा.डा. ग्यारी जैंकको निर्देशनमा रहेर अनुसनधान सम्पन्न गर्नुभएको हो ।
गौतमले अध्ययन अवधिमा अन्तराष्ट्रिय स्तरमा उच्चस्तरीय वैज्ञानिक जर्नलहरुमा थुप्रै अनुसन्धानपत्रहरु प्रकाशित गर्नुका साथै विभिन्न अन्तराष्ट्रिय वैज्ञानिक सम्मेलनहरुमा आफ्ना अनुसन्धान प्रतिवेदनहरु प्रस्तुत गरिसक्नुभएको छ ।
“ग्रामिण क्षेत्रको सामान्य परिवारबाट सुरु भएको मेरो यात्रा आज यहाँसम्म आईपुग्दा धेरै संघर्ष, धैर्य र निरन्तर मेहनतको लगानी छ,” सुजनले भन्नुभयो “यो सफलता मेरो मात्र नभएर परिवार, साथीभाई, आफन्त, शिक्षक र शुभेच्छुकहरुको साझा उपलब्धी हो ।”
सुर्य र अन्तरिक्षमा हुने गतिबिधिले पृथ्वीको सेटालाइट स्टिम, रेडियो सञ्चार, मौसम र दैनिक जीवनमै असर पार्ने भएकाले सानैदेखिको रुची अनुसार जटिल र चुनौतिपूर्ण भएपनि अन्तरिक्ष विज्ञानको अनुसन्धानमा लागेको गौतमले बताउनुभयो ।
“सुर्यसँग सम्बन्धित कैयन अनुत्तरित प्रश्नहरु छन जो बुझ्न सारा विश्वका वैज्ञानिकहरु लगिपरेका छन्, मलाई पनि त्यही जिज्ञाशाले यो क्षेत्रमा तानेको हो,” उहाँले भन्नुभयो “मेरो कामले भविष्यमा सौर्य आँधी, अन्तरिक्ष मौसम र तिनको प्रभावलाई अझ राम्रोसँग बुझ्न मद्दत गर्नेछ ।”
अन्तरिज्ञ विज्ञान तथा सौर्य वायु सम्बन्धी अनुसन्धानलाई निरन्तरता दिने गौतमको योजना छ । त्रिभुवन विश्व विद्यालयबाट भौतिकशास्त्र विषयमा स्नातक र स्नाकोत्तर पुरा गरेर सन् २०२२ मा पूर्ण छात्रवृत्तिमा अध्ययनका लागि अमेरिकाको ‘युनिभर्सिटी अफ आलाबामा इन हन्टसभिलको ’डिपार्टमेन्ट अफ स्पेस साइन्स’मा जानुभएको थियो । गौतमले अमेरिकाको उक्त विश्व विद्यालयको अध्ययन केन्द्रमा ‘सेन्टर फर स्पेस प्लाज्मा एण्ड एरोनोमिक रिसर्च’मा रिसर्च असिस्टेन्टको रुपमा आफ्ना अनुसन्धानहरु गर्दै आउनुभएको थियो ।
गौतमको नेतृत्वमा अनुसन्धानकर्ताहरु अशोक शिल्वाल, बासु बराल र डा. बिनोद अधिकारीको टोलीले सन् १९६८ देखि सन २०२३ सम्म को पोखरा र काठमाडौको मासिक बर्षाको तथ्याङ्कहरुलाई सौर्य गतिबिधीको सम्बन्धलाई आधार मानेर गरेको अध्ययनको प्रतिवेदन एक वर्षअघि प्रकाशन भएको थियो ।


























