बेनी ।जिल्ला प्रशासन कार्यालय म्याग्दीले आमाको नामबाट पहिलोपटक नागरिकता प्रदान गरेको छ । बाबुको पहिचान नखुलेकाको अवस्थामा नागरिकताबाट बन्चित हुनुभएकी म्याग्दीको मालिका गाउँपालिका–५,देविस्थानकी २२ बर्षिया सिमा पुनलालाई प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्यले सोमबार वंशजका आधारमा नागरिकता प्रदान गर्नुभएको हो । नागरिकता ऐन,२०६३ को दोस्रो संशोधन तथा नियमावलीको चौथो संशोधन बमोजिम पुनलाई ५६ वर्षीया आमा लिलसरा पुनको नामबाट नागरिकता प्रदान गरिएको सहायक प्रजिअ कुलप्रसाद आचार्यले बताउनुभयो।
नेपाल नागरिकता (चौथो संशोधन) नियमावली,२०८२ राजपत्रमा प्रकाशन गरेसँगै नागरिकता ऐन २०६३ को व्यवस्था कार्यान्वयन गरिएको छ । नागरिकता प्राप्त गरेपछि पुनले आफ्ना रोकिएका कार्यहरू अगाडी बढ्ने बताउनुभयो । छोरीको हातमा नागरिकता परेपछि आमा लिलसराले आफ्नो महत्वपूर्ण जिम्मेबारी पूरा भएको बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी आर्चायले संविधान तथा प्रचलित कानुनअनुसार नागरिकका हकअधिकार सुनिश्चित भएको बताउनुभयो। जन्मदिने बुबाको परिचय नभएको अवस्थामा आमाको नामबाट नागरिकता लिन आवश्यक प्रक्रियाका बारेमा स्थानीयमा समेत परिपत्र पुगिेको छ । जिल्ला प्रशासन कार्यालयमा हालसम्म तीनजना किशोरीले आमाको नामबाट नागरिकता लिन आवश्यक कागजातहरु प्रक्रियामा रहेको छ ।


























