
दरबाङ ।म्याग्दीको गाउँपालिका- ६, दरवाङमा रहेको आत्मनिर्भर साना किसान कृषि सहकारीको छैठौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सोमबार दरवाङमा भएको साधारणसभामा बोल्दै मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले सहकारीले नाफा गर्ने मात्र नभएर व्यवसायीक बन्नु पर्ने बताउनुभयो । सहकारीले श्रम सँगै प्रविधिको पनि प्रयोगमा ल्याउनु पर्नेमा जोड दिनुभयो । सहकारीले चाउमिन उत्पादन गर्न थालेको र त्यसले सदस्यहरुका लागि राम्रो गर्ने उहाँको धारणा थियो ।कतिपय सहकारीहरुले आफूलाइ जोगाउनै मुस्किल भएको अवस्था देखिएको भए पनि आत्मनिर्भरले वार्षिक साधारणसभा आयोजना गर्नु पनि सहकारी ठिक छ भन्ने भएको अध्यक्ष गर्बुजाको धारणा थियो ।

साना किसानको समृद्धिः कृषिमा रुपान्तरण र उद्यमशिलताको विकास भन्ने नारा साथ स्थापना भएको सहकारीमा ५३४ जना शेयर सदस्यहरुबाट ६६ लाख ७४ हजार ८ सय रुपियाँ शेयर पुँजी संकलन गरिएको छ । सहकारीले एक करोड ४८ लाख १० हजार ७ सय ३६ रुपैयाँ ऋण प्रवाह गरेको छ । सहकारीबाट गरिएको लगानी मध्ये हालको अवस्थामा खराब ऋणी ४ जना रहेको संस्थाका अध्यक्ष सन्तोष सुवेदीले जानकारी दिनुभयो । सहकारीले कृषकहरुलाई समेटेर विभिन्न ६३ वटा कृषक समूहहरु गठन गरेको छ ।

सन्तोष सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष कुलबहादुर घर्तीले स्वागत गर्नुभएको थियो भने सञ्चालन सचिव अमृत सापकोटाले गर्नुभएको थियो । कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष तिलकसिंह ठकुरी, प्रवन्धक शुसिला कँडेल, कोषाध्यक्ष सरला आचार्य सुवेदीलगायतले बोल्नु भएको थियो । संस्थाका असल ऋणि रिकुमारी पुन, उत्कृष्ट बचतकर्ता इन्द्रमति सुनार र असल उद्योगी उमादेवी पुनलाई नगद सहित सम्मान गरिएको थियो ।
संस्थाका अध्यक्ष सन्तनाथ सुवेदीले संस्थाको भावि योजनाका बारेमा जानकारी गराउनु भएको थियो भने सचिव सापकाेटाले आगामी योजना कसरी अगाडी बढाउने भन्ने प्रस्ताव सहितको प्रतिबेदन पेश गर्नु भएको थियो । कोषाध्यक्ष सरला र सचिव अमृतको प्रतिवेदन लगायत प्रतिवेदनहरु छलफल पछि पारित भएको अध्यक्ष सुवेदीले जानकारी दिनुभयाे ।


















































