
बेनी । म्याग्दी जिल्लामा बसोबास गर्दै आएका मगर समुदायले परम्परागत पर्व माघे संक्रान्ति हर्षउल्लासका साथ मनाएका छन् । बिहिबार नेपाल मगर संघ जिल्ला समन्वय समिति म्याग्दीको आयोजनामा सदरमुकाम बेनीमा सांस्कृतिक झाँकी प्रदर्शन, शुभकामना आदान–प्रदान तथा सांस्कृतिक कार्यक्रम गरी पर्व मनाइएको हो ।

माघेसंक्रान्ति पर्वको अवसरमा मगर समुदायको मौलिक भेषभूषा, बाजागाजा, नृत्य तथा पुख्र्यौली नृत्यसहितको सांस्कृतिक झाँकी बेनी बजार परिक्रमा गरिएको थियो । झाँकीले बेनीबजार परिक्रमा गरेपछि जिल्ला समन्वय समितिको सभाहलमा औपचारिक कार्यक्रम आयोजना गरिएको थियो ।

समारोहको उद्घाटन गर्दै गण्डकी प्रदेश सदस्य तथा पुर्वमन्त्री रेशमबहादुर जुग्जाली (सुविन)ले मगर समुदायको पहिचान जोगाउन भाषा, कला र संस्कृतिको संरक्षण अत्यावश्यक रहेको बताउनुभयो । उहाँले म्याग्दी जिल्लामा मगर समुदायले संस्कृति संरक्षणमा सक्रियता देखाए पनि भाषा संरक्षणमा अपेक्षित चासो पुग्न नसकेको उल्लेख गर्नुभयो । नयाँ पुस्तालाई आफ्नो मौलिक भाषा सिकाउने र प्रयोगमा ल्याउनेतर्फ सबै सचेत हुनुपर्ने उहाँको भनाइ थियो ।

पूर्व मन्त्री जुग्जालीले मगर भाषालाई सरकारी कामकाजको भाषाको रूपमा प्रयोग गर्ने गरी गण्डकी प्रदेश सरकारले विधेयक पारित गरिसकेको जानकारी गराउँदै यसको प्रभावकारी कार्यान्वयनका लागि समुदाय स्वयं अग्रसर हुनुपर्ने धारणा व्यक्त गर्नुभयो । “भाषा हराएसँगै संस्कृति पनि हराउने खतरा हुन्छ,” उहाँले भन्नुभयो, “त्यसैले विद्यालय तहदेखि नै मगर भाषाको अध्ययन–अध्यापनमा जोड दिनुपर्छ ।”

कार्यक्रममा धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेम पुनले मगर समुदायको एकता र सहकार्यले मात्रै समुदायको सामाजिक, सांस्कृतिक तथा आर्थिक विकास सम्भव हुने बताउनुभयो । उपाध्यक्ष रेशम पुनले मौलिक संस्कृति संरक्षणमा स्थानीय तहले समेत सहकार्य गर्दै आएको उल्लेख गर्नुभयो । नेपाल मगर संघ गण्डकी प्रदेश समितिका सदस्य हिराबहादुर पुन र बेनी सामुदायिक माध्यमिक विद्यालयका प्रधानाध्यापक भिम घर्तिले मगर समुदायको पहिचान जोगाउन भाषा र संस्कृतिको संरक्षणमा सबैले आ–आफ्नो भूमिकामा जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभयो । सोही अवसरमा बेनी सामुदायिक माध्यमिक विद्यालयका प्रधानाध्यापकमा नियुक्त हुनुभएका भिम घर्तिलाई सम्मान समेत गरिएको थियो ।

नेपाल मगर संघ जिल्ला समन्वय समिति म्याग्दीका अध्यक्ष खम थापा मगरले मगर समुदायको भाषा, संस्कृति र पहिचान संरक्षणका लागि संघले निरन्तर पहल गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो । म्याग्दी जिल्लामा बाहुलता रहेको मगर समुदायले माघे संक्रान्ति पर्वलाई विशेष महत्वका साथ मनाउने गर्दछन् ।

नेपाल मगर संघ म्याग्दीका उपाध्यक्ष विष्णुकुमारी रोकाले स्वागत, संघका सहसचिव रमेश फगामी मगरले सञ्चालन गरेको कार्यक्रममा गायिका गीता पाइजाले सांगीतिक प्रस्तुति दिनुभएको थियो । कार्यक्रममा मगर समुदायका विभिन्न सांस्कृतिक नृत्यहरू प्रस्तुत गरेका थिए ।





















































