म्याग्दीमा निर्वाचन मितव्ययी बनाउन राजनीतिक दलको जोड

  म्याग्दी न्युज संवाददाता

म्याग्दी । निर्वाचनमा हुने भड्किलो खर्चलाई मितव्ययी बनाउन र निर्वाचन आचारसहिंताको पूर्ण पालना गर्न म्याग्दीका राजनीतिक दलहरूले जोड दिएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मङ्गलबार उम्मेदवारी दर्ता गरेका जिल्लाका राजनीतिक दल र उम्मेदवारले निर्वाचन आर्थिक रूपमा बढी खर्चिलो र भड्किलो हुँदै गएप्रति चिन्ता व्यक्त गर्दै खर्चलाई मितव्ययी बनाउन र आचारसहिंताको पूर्ण पालना गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।  

मुख्य निर्वाचन अधिकृतको कार्यालयद्वारा बुधबार बेनीमा आयोजना गरिएको निर्वाचन आचारसहिंतः व्यवस्था, अनुगमन र नियन्त्रण सम्बन्धमा जिल्ला स्थित राजनीतिक दल,उम्मेदवार र सम्बद्ध पक्षसँग गरिएको अन्तरक्रिया कार्यक्रममा दलले निर्वाचन गराउने निकाय तटस्थ र निष्पक्ष हुनुपर्ने जोड दिएका थिए । 

 

राजनीतिक दलका प्रतिनिधिले निर्वाचनलाई शान्त, भयरहित वातावरणमा स्वच्छ, निष्पक्ष र विश्वसनीय रूपमा सम्पन्न गर्न नियमक निकायले तटस्थ भएर भूमिका निर्वाह गर्नुपर्ने राजनीतिक दलका प्रतिनिधिको भनाइ थियो । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् संविधानसभा सदस्य रेशमबहादुर बानियाँले निर्वाचन आधारसिंहताको कार्यान्वयन गर्नका लागि नियमक निकाय सचेत हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो,‘‘निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि नियमक निकायले तटस्थ रूपमा भूमिका निर्वाह गर्नुपर्ने हुन्छ ।’’ निर्वाचनलाई कम खर्चिलो बनाउन उम्मेदवार र दलहरुले आचारसहिंताको पूर्ण पालना गर्नुपर्ने उहाँको भनाइ थियो । 

 

नेपाल कम्युनिस्ट पार्टी (एमाले)का गण्डकी प्रदेश कमिटी अध्यक्ष एवम् संविधानसभा सदस्य नवराज शर्माले निर्वाचनलाई शान्तिपूर्ण र भयरहित रूपमा सम्पन्न गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालय,सुरक्षा निकाय र राजनीतिक दलहरू बिच निरन्तर रूपमा समन्वय र सहकार्य हुनुपर्नेमा जोड दिनुभयो । उहाँले बलिया राजनीतिक दलहरूले आचारसहिंता पूर्णरूपमा पालना गरेमा निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न हुने बताउनुभयो । 

 

कार्यक्रममा संविधानसभा सदस्य एवम् नेकपाका नेता गोविन्द पौडेल, गमबहादुर श्रीस, गण्डकी प्रदेश सभा सदस्य तथा नेकपा म्याग्दीका नेता रेशमबहादुर जुग्जाली, नेपाली कांग्रेसका जिल्ला सचिव भरतबहादुर रकाल, नेकपा माओवादीका ध्रुव घिमिरे, राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का युवराज रोका,राप्राकाकी सञ्जु बरुवाल लगायतले निर्वाचनमा हुने भड्किलो खर्चलाई न्यूनीकरण गर्नका लागि आचारसहिंताको पूर्ण पालना हुनुपर्नेमा जोड दिनुभएको थियो । 

 

कार्यक्रममा मुख्य निर्वाचन अधिकृत एवम् जिल्ला न्यायाधीश सूर्यबहादुर थापाले निर्वाचनलाई स्वच्छ,निष्पक्ष र विश्वसनीय रूपमा भयरहित वातावरणमा मितव्ययी तवरले सम्पन्न गर्न राजनीतिक दल, उम्मेदवार लगायत सम्पूर्ण सरोकारवाला पक्षको महत्त्वपूर्ण सहयोग हुनुपर्ने बताउनुभयो । 

प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्य निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा निकायबाट तटस्थ भएर भूमिका निर्वाह हुने विश्वास दिलाउनुभयो ।

 

उहाँले सम्बन्ध सबै पक्षसँग निरन्तर रूपमा समन्वय र सहकार्य गरेर निर्वाचनलाई सम्पन्न गरिने बताउनुभयो । कार्यक्रममा जिल्ला निर्वाचन अधिकारी बिमलप्रसाद गौतमले निर्वाचन आचारसंहिता,व्यवस्था,अनुगमन र नियन्त्रणका सम्बन्धमा भएका व्यवस्थाहरूको बारेमा प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा जिल्ला स्थित राजनीतिक दलका प्रतिनिधि,सुरक्षा निकाय र सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो । 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार