म्याग्दीमा नयाँ कुष्ठरोगीको पहिचान, सामाजिक डरले अझै पनि रोग लुकाउने प्रवृत्ति

  धनिलाल गर्बुजा

बेनी, ११ माघ । म्याग्दी जिल्लामा चालु आर्थिक वर्ष २०८२/०८३ मा एक जना नयाँ कुष्ठरोगीको पहिचान भएको छ । औषधि सेवनबाट पूर्ण रूपमा निको हुने भए पनि समाजमा रहेको डर, विभेद र लाञ्छनाका कारण कुष्ठरोगी खुल्न नसकेको प्रदेश सनस्थ्य कार्यलय म्याग्दीले जनाएको छ ।

आइतबार ७३औँ कुष्ठरोग दिवसका अवसरमा जनस्वास्थ्य कार्यालय म्याग्दीले बेनीमा आयोजना गरेको कुष्ठरोग सम्बन्धी पत्रकार तथा सरोकारवालाहरूसँगको अन्तरक्रिया कार्यक्रममा उपचारपछि निको भएका बिरामीलाई समेत समाजले नकारात्मक दृष्टिले हेर्ने गरेको जनाइएको छ । बिरामीले रोग लुकाउने, लुकिछिपी बस्ने र खुलेर उपचारमा आउन नचाहने अवस्था अझै कायम रहेको छ ।

जनस्वास्थ्य कार्यालय म्याग्दीका परिवार नियोजन सुपरभाइजर गणेश सुवेदीका अनुसार हाल जिल्लामा नियमित रूपमा औषधि सेवन गरिरहेका तीन जना पुराना बिरामी छन् । पछिल्लो पाँच वर्षमा आर्थिक वर्ष २०८०/०८१ मा सबैभन्दा बढी पाँच जना र २०८१/०८२ मा चार जना कुष्ठरोगीको पहिचान भएको थियो । “नयाँ बिरामीको अवस्था सामान्य छ, तर समाजमा अझै पनि कुष्ठरोग लुकाउने गलत मानसिकता हट्न सकेको छैन,” सुवेदीले बताउनुभयो ।

नयाँ बिरामी मालिका गाउँपालिकाका रहेका छन् र उनी दरबाङ प्राथमिक स्वास्थ्य केन्द्रबाट उपचार लिइरहेका छन् भने पर्वत जिल्लाका दुई जना पुराना बिरामीले बेनी अस्पतालबाट औषधि लिइरहेका छन् । स्वास्थ्यकर्मीहरूका अनुसार १० हजार जनसंख्यामा एक जनामा कुष्ठरोग देखिने अनुमान गरिएको छ ।

जनस्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख भुवन ठकुराठीले जिल्लामा बिरामीको संख्या कम भए पनि समयमै पहिचान, उपचार र बिरामीप्रति सम्मानजनक व्यवहार गर्न समाजको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले कुष्ठरोग प्रत्यक्ष उपचार नगरेसम्म पूर्ण रूपमा निको नहुने भएकाले स्वास्थ्य संस्थाको सम्पर्कमा आउन सबैलाई आग्रह गर्नुभयो ।

बेनी अस्पतालका प्रमुख डा. हेमन्त बास्तोलाका अनुसार कतिपयले कुष्ठरोगलाई सामाजिक बहिष्कारको कारण वा वंशानुगत रोगका रूपमा बुझ्दा रोकथाममा समस्या देखिएको छ । माइकोब्याक्टेरियम लेप्रे नामक जीवाणुबाट सर्ने यो रोगको उपचार निःशुल्क रूपमा उपलब्ध रहेको उहाँले जानकारी दिनुभयो । नेपाल पत्रकार महासंघ म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतमले ग्रामीण क्षेत्रमा कुष्ठरोग सम्बन्धी प्रचार–प्रसार तथा सचेतना कार्यक्रम सञ्चालन गर्न आग्रह गर्नुभयो ।

कुष्ठरोगका लक्षणमा छालामा रातो वा फुस्रो दाग देखिनु, अनुहारको छाला बाक्लिनु, गिर्खा आउनु, स्नायुमा असर परेर हातखुट्टामा छुँदा थाहा नपाउनु तथा मांसपेशी कमजोर हुनु लगायतका समस्या देखिन सक्छन् । यस्ता लक्षण देखिएमा लाज नमानी तत्काल नजिकको स्वास्थ्य संस्थामा जाँच गराउन स्वास्थ्यकर्मीहरूले अनुरोध गरेका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार