बेनी, १३ माघ । म्याग्दीको सदरमुकाम बेनीमा अवस्थित बेनी बोर्डिङ सेकेण्डरी स्कुलको आयोजनामा १४औँ अन्तर–आधारभूत तह बेनी बोर्डिङ कप फुटबल प्रतियोगिता २०८२ औपचारिक रूपमा सुरु भएको छ । विद्यालयको प्राङ्गणमा आयोजित उद्घाटन समारोहमा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुमन श्रेष्ठले प्रतियोगिताको उद्घाटन गर्नुभएको हो ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले विद्यालयस्तरमा आयोजना गरिने खेलकुद प्रतियोगिताले लुकेका खेल प्रतिभाको पहिचान गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले म्याग्दी जिल्लामा विद्यालयस्तरका खेलाडीहरूलाई उचित अवसर दिलाउन जिल्ला खेलकुद विकास समिति प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा बेनी नगरपालिकाका वडा नं. ७ का वडा अध्यक्ष रमेशकुमार श्रेष्ठले खेलकुदले विद्यार्थीहरूको शारीरिक, मानसिक तथा अनुशासनात्मक विकासमा टेवा पुग्ने बताउँदै स्थानीय तहबाट खेलकुद प्रवर्द्धनमा निरन्तर सहयोग रहने धारणा राख्नुभयो । त्यसैगरी जिल्ला फुटबल संघ म्याग्दीका अध्यक्ष कुमार बानियाँले पछिल्लो समय म्याग्दीमा फुटबल प्रतियोगितामार्फत खेलाडीहरूको स्तर र नतिजामा उल्लेखनीय सुधार हुँदै गएको बताउनुभयो ।

सोही अवसरमा शिक्षक–अभिभावक संघका अध्यक्ष विक्रम बोगटीले विद्यालयस्तरमा नियमित खेलकुद गतिविधि सञ्चालन हुनुले विद्यार्थीहरूलाई सकारात्मक दिशातर्फ डोर्याउने विश्वास व्यक्त गर्नुभयो ।

अन्तर–आधारभूत तह (कक्षा १ देखि ८ सम्म) का विद्यार्थीहरू सहभागी हुन पाउने यस प्रतियोगितामा जिल्लाका १७ वटा विद्यालयको सहभागिता रहेको छ । प्रतियोगितात्मक खेलहरू बुधबारदेखि बेनीको खुला मञ्चमा सञ्चालन हुने विद्यालयले जनाएको छ ।

प्रतियोगितामा प्रथम हुने टिमले ३५ हजार रुपैयाँ नगदसहित कप, मेडल र प्रमाणपत्र तथा दोस्रो हुने टिमले २० हजार रुपैयाँ नगद, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

कार्यक्रम विद्यालयका प्रबन्ध निर्देशक सनम बानियाँको अध्यक्षता, विद्यालयका प्रिन्सिपल हरिकृष्ण पौडेलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन शिक्षक विशाल खत्रीले गर्नुभएको थियो ।



























