बेनी बोर्डिङ कपको फाइनलमा बेनी सामुदायिक मावि र न्यू वेष्टपइन्ट प्रवेश

बेनी १६ माघ । म्याग्दीको सदरमुकाम बेनीमा रहेको बेनी बोर्डिङ सेकेण्डरी स्कुलको आयोजनामा सञ्चालित १४औँ अन्तर–आधारभूत तह बेनी बोर्डिङ कप फुटबल प्रतियोगिता २०८२ अन्तर्गत बेनी सामुदायिक माध्यमिक विद्यालय र न्यु वेष्टपइन्ट एकेडेमी फाइनलमा प्रवेश गरेको खेल संयोजक कृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।

बुधबार सम्पन्न सेमिफाइनल खेलमा बेनी सामुदायिक माविले आयोजक बेनी बोर्डिङ सेकेण्डरी स्कुललाई २–० गोल अन्तरले पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो । यसैगरी सेमिफाइनल खेलमा न्यू वेष्टपइन्ट एकेडेमीले प्रकाश माध्यमिक विद्यालयलाई २–० गोल अन्तरले हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको छ ।

माघ १७ गते शनिबार सकिने यस प्रतियोगितामा अन्तर–आधारभूत तहअन्तर्गत कक्षा १ देखि ८ सम्मका जिल्लाका १७ वटा विद्यालय सहभागी रहेको खेल संयोजक विशाल खत्री बताउनुभो । उहाँका अनुसार प्रतियोगिता बुधबारदेखि बेनीको खुला मञ्चमा सञ्चालन भइरहेको छ ।
विद्यालयको प्राङ्गणमा आयोजित उद्घाटन समारोहमा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुमन श्रेष्ठले प्रतियोगिताको औपचारिक उद्घाटन गर्नुभएको थियो ।

प्रतियोगितामा प्रथम हुने टिमले ३५ हजार रुपैयाँ नगदसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने दोस्रो हुने टिमले २० हजार रुपैयाँ नगद, मेडल र प्रमाणपत्र हात पार्नेछ । फाइनल खेल शनिबार दिउँसो १ बजे आयोजना हुने आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार