राहुघाट जलविद्युत आयोजनामा सुरक्षा गार्डको हत्या, संलग्न पक्राउ

  म्याग्दी न्यूज संवाददाता

म्याग्दी, २० माघ । म्याग्दीको रघुगङ्गा गाउँपालिका–३,चमेरेमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको विद्युतगृहमा कार्यरत एक सुरक्षा गार्डको हत्यामा संलग्नलाई प्रहरीले पक्राउ गरेको छ । गत माघ १५ गते भारतीय जेपी एसोसियर्टस कम्पनीले निर्माण गरिरहेको विद्युतगृहको भुँइतलामा सोही सोही कम्पनीमा कार्यरत इलामको माई नगरपालिका–९ घर भएका ५५ बर्षका भिष्म पौडेल मृत अवस्थामा फेला परेका थिए ।

टाउकोमा गम्भिर चोट लागेको अवस्थामा शब फेला परेपछि घटना संकास्पद भएकोले अनुसंधान गर्दा सोही कम्पनीमा कार्यरत म्याग्दीको मंगला गाउँपालिका–२ हिदीका २९ बर्षिय भिमप्रसाद किसानको संलग्नता देखिएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । मंगलवार प्रेस विज्ञप्ती जारी गर्दै जिल्ला प्रहरी कार्यालय म्याग्दीले घटनामा पत्ता लागेका तथ्यहरु सार्वजनिक गरेको छ ।

माघ १४ गते रातको समयमा निर्माणधिन जलविद्युत आयोजनाबाट वेल्डिङ मेशिन र तामाका तारहरु चोरी गरी बिक्रि गरेको र सुरक्षा गार्ड पौडेलले उक्त कुरा कम्पनीलाई जानकारी गराइदिने बताएपछि भएको विवादमा किसानले टाउकोमा दाउरा प्रहार गरी गम्भिर घाईते बनाई विद्युतगृहको दोस्रो तलामा रहेको प्वालबाट भुईतलामा खसालेर हत्या गरेको देखिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरिक्षक सागर तिमिल्सिनाले जानकारी दिनुभयो ।

उहाँका अनुसार, घटना संकास्पद देखिएपछि प्रदेश अस्पताल बेनीबाट विशेषज्ञ चिकित्सक र गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराबाट तालिम प्राप्त कुकुर सहितको विशेषज्ञ टोली झिकाएर विविध कोणबाट शुक्ष्म रुपमा घटनाको अनुसंधान गरिएको थियो । अनुसंधानको क्रममा उक्त घटना हुँदाको समयमा कम्पनीबाट सामान चोरी गर्ने कार्यमा संलग्न भएका पाँच जनालाई समेत पक्राउ गरीएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा रघुगंगा गाउँपालिका–३ तिल्किनीका गमबहादुर शेन्चुरी, सोही वडाको पिप्लेका गिरीबहादुर मल्ल, रुपन्देहीको देवदह नगरपालिका– ९ का तुलबहादुर गुरुङ, पर्वतको जलजला गाउँपालिका–३ पारिवेनी बस्ने बिज्ञान राज शर्मा र बेनी नगरपालिका–९ का शिब पुरी रहेको प्रहरीले जनाएको छ । पक्राउ परकाहरुलाई जिल्ला अदालतबाट म्याद थप गरी अनुंधान प्रकृया अघि बढाईएको सूचना अधिकारी तिमिल्सिनाले जानकारी दिनुभयो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार