
‘समृद्धिका लागि सञ्चार कर्म, प्रेस चौतारीको मूल मर्म’ भन्ने नारासहित प्रेस चौतारी नेपाल जिल्ला शाखा म्याग्दीले बिहीबार २८औं स्थापना दिवस मनाएको छ । स्थापना दिवसको अवसरमा म्याग्दी शाखाले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेकपा एमाले म्याग्दीका उम्मेद्वार हरिकृष्ण श्रेष्ठसँग साक्षात्कार तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो ।

आसन्न निर्वाचनलाई लक्षित गर्दै आयोजित कार्यक्रममा उम्मेद्वार श्रेष्ठले आफ्ना चुनावी एजेण्डा तथा प्रतिबद्धताहरु सार्वजनिक गर्नुभएको थियो । प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएपछि कानुन निर्माणमा प्रभावकारी भूमिका खेल्ने बताउँदै उहाँले म्याग्दी जिल्लाको विकास निर्माण, आर्थिक सुशासन र रोजगारी सिर्जनालाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । ‘समृद्ध म्याग्दी र सुखी म्याग्दीवासी’ बनाउने अभियानमा आफू केन्द्रीत हुने उहाँको भनाइ थियो ।

नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहनुभएका श्रेष्ठले देशमा बढ्दो भ्रष्टाचार तथा आर्थिक अनियमितता नियन्त्रणका लागि पहल गर्ने बताउँदै जलविद्युत्, कृषि, पर्यटन र पूर्वाधार विकासलाई मुख्य एजेण्डा बनाइएको जानकारी दिनुभयो । जलविद्युत् क्षेत्रमा स्थानीयलाई शेयर, लगानी र रोजगारीको अवसर प्रदान गर्ने तथा कृषिमा आधुनिकीकरणमार्फत उत्पादन र बजारीकरण बढाउने योजना रहेको उहाँले बताउनुभयो ।

कार्यक्रममा नेकपा एमाले म्याग्दीका अध्यक्ष बालकृष्ण सुवेदीले ‘स्मार्ट म्याग्दी’ बनाउने लक्ष्यसहित एमाले निर्वाचनमा होमिएको बताउनुभयो । उहाँले म्याग्दीमा भएका अधिकांश विकास निर्माण एमालेको पहलमा सुरु भएको दाबी गर्दै अधुरा आयोजना पूरा गर्न एमालेका उम्मेद्वारलाई विजयी गराउन आग्रह गर्नुभयो ।
प्रेस चौतारी म्याग्दीका अध्यक्ष प्रताप बानियाँको अध्यक्षता एवं स्वागत र सचिव अमित विश्वकर्माले सञ्चालन गर्नुभएको कार्यक्रममा नेपाल पत्रकार महासंघ म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतमले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा नेकपा एमाले गण्डकी प्रदेश कमिटीका सदस्य प्रकाश कार्की, एमाले म्याग्दीका उपाध्यक्ष प्रमोद श्रेष्ठ, बेनी नगरपालिका कमिटी अध्यक्ष बेलबहादुर कटुवाल लगायतको उपस्थिति रहेको थियो ।


















































