म्याग्दीमा निर्वाचन नजिकिएसँगै उम्मेदवार घरदैलो अभियानमा व्यस्त

  धनिलाल गर्बुजा

म्याग्दीमा, २७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै जाँदा म्याग्दी जिल्लामा चुनावी गतिविधि तीव्र बन्दै गएको छ । विभिन्न राजनीतिक दलका उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारहरू मतदाता भेटघाट र घरदैलो अभियानमा व्यस्त देखिएका छन् ।

नेपाली कांग्रेस म्याग्दीबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार कर्णबहादुर भण्डारी (केबी) सोमबार अन्नपूर्ण गाउँपालिकाका विभिन्न बस्तीमा घरदैलो अभियानमा सहभागी हुनुभएको छ । अन्नपूर्ण गाउँपालिका–२, ३ र ४ अन्तर्गत पर्ने नारच्याङका विभिन्न बस्तीमा पुग्नुभएका भण्डारीलाई स्थानीय मतदाताले फुलमाला लगाएर स्वागत गर्नुका साथै आफ्ना समस्या, सुझाव र अपेक्षाहरू राखेका छन् ।

घरदैलोका क्रममा भण्डारीले स्थानीय बासिन्दाका दुःख–पीडा सुन्दै आफ्नो चुनावी एजेण्डा र प्रतिबद्धता सार्वजनिक गर्नुभएको छ । उहाँले जलविद्युत् विकास, पर्यटन प्रवर्द्धन, सडक पूर्वाधार विस्तार तथा स्थानीयस्तरमा उत्पादन हुने कृषिलाई आधुनिक प्रविधिसँग जोडेर विकास गर्ने विषयलाई आफ्नो प्रमुख एजेण्डाका रूपमा अघि सार्नुभएको छ ।

प्रविधि र केन्द्रीय राजनीतिमा राम्रो ज्ञान र अनुभव भएका भण्डारी यसपटक स्पष्ट रणनीतिका साथ संसद प्रवेश गर्ने लक्ष्य लिएर मैदानमा उत्रिएको बताउँदै घरदैलो अभियानलाई प्रभावकारी बनाइरहनुभएको छ ।

यता नेकपा एमालेका उम्मेदवार हरिकृष्ण श्रेष्ठ पनि मालिका गाउँपालिका–२ रुम क्षेत्रमा घरदैलो अभियानमा सक्रिय रहनुभएको छ । उहाँले स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै पार्टीका नीति तथा कार्यक्रमबारे जानकारी गराइरहनुभएको छ । त्यसैगरी नेकपाका उम्मेदवारहरू पनि मालिका गाउँपालिकाका विभिन्न बस्तीमा घरदैलो गर्दै मतदाताको समर्थन जुटाउने प्रयासमा छन् ।

यसैबीच, म्याग्दीबाट स्वतन्त्र उम्मेदवारका रूपमा चुनावी प्रतिस्पर्धामा रहनुभएका महावीर पुनले आफ्नो जन्मगाउँ नागी र राम्चेमा अन्तिम चरणको घरदैलो अभियान सम्पन्न गर्नुभएको छ । घरदैलो सकेपछि पुन दोस्रो चरणको प्रचार अभियान सुरु हुनुअघि नै म्याग्दीबाट पोखरा प्रस्थान गर्नुभएको छ ।

पोखरामा रहँदा पुनले त्यहाँ बसोबास गरिरहेका म्याग्देलीहरूसँग भेटघाट, अन्तरसंवाद तथा छलफल गर्ने कार्यक्रम रहेको बताइएको छ । म्याग्दीको विकास, प्रविधि, शिक्षा र रोजगारीका विषयमा आफ्नो धारणा राख्दै पुनले शहरमा रहेका म्याग्देली मतदातालाई पनि जोड्ने प्रयास गरिरहनुभएको छ ।

निर्वाचनको मिति नजिकिँदै जाँदा म्याग्दीमा उम्मेदवारहरूका घरदैलो, भेटघाट र प्रचारप्रसार कार्यक्रमले चुनावी माहोल थप तातिँदै गएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार