बेनी, २८ माघ । म्याग्दीको बेनी बजारका खाद्यान्न तथा किराना पसलहरूको मंगलबार अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीको अगुवाइमा बिरेन्द्रचोक आसपासका क्षेत्रका १० वटा किराना तथा खाद्यान्न पसलहरूको अनुगमन गरिएको हो ।
अनुगमन टोलीले पसलहरूमा बिक्रीका लागि राखिएका खाद्यान्न, बिस्कुट, प्याकेटबन्द नास्ता, पेय पदार्थ तथा दैनिक उपभोग्य वस्तुहरूको म्याद, मूल्यसूची र दर्ता सम्बन्धी कागजातहरूको निरीक्षण गरेको थियो । बजारमा उपभोक्तालाई गुणस्तरीय तथा सुरक्षित वस्तु उपलब्ध गराउने उद्देश्यले गरिएको अनुगमनका क्रममा केही पसलमा म्याद नाघेका वस्तु फेला परेका थिए ।

टोलीका अनुसार करिब दुई हजार पाँच सय रुपैयाँ बराबरका म्याद नाघेका विभिन्न खाद्यान्न सामग्री जफत गरी नष्ट गर्न लगाइएको छ । जफत गरिएका वस्तुहरूमा प्याकेटबन्द चाउचाउ, बिस्कुट लगायतका सामग्री रहेका थिए । म्याद गुज्रिएका वस्तुहरू बिक्रीका लागि राखिएको पाइएपछि सम्बन्धित व्यवसायीलाई सचेत गराउँदै आगामी दिनमा यस्ता त्रुटि दोहोरिए कानुनी कारबाही गरिने चेतावनीसमेत दिइएको थियो ।
अनुगमनका क्रममा केही पसलमा मूल्यसूची अद्यावधिक नगरी राखिएको तथा केही स्थानमा व्यवसाय दर्ता प्रमाणपत्र स्पष्ट रूपमा प्रदर्शन नगरिएको पाइएको टोलीले जनाएको छ । व्यवसायीहरूलाई अनिवार्य रूपमा दर्ता गरेर मात्र व्यवसाय सञ्चालन गर्न, मूल्यसूची अद्यावधिक गरी ग्राहकले सजिलै देख्ने स्थानमा टाँस्न, म्याद नाघेका वस्तु छुट्टै राखी तुरुन्तै आपूर्तिकर्तालाई फिर्ता पठाउन निर्देशन दिइएको छ ।
उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने खाद्यान्न सामग्रीमा विशेष सतर्कता अपनाउन व्यवसायीलाई आग्रह गरेको छ । साथै, बजार अनुगमनलाई नियमित रूपमा निरन्तरता दिइने र उपभोक्ता अधिकार संरक्षणका लागि कडाइका साथ निगरानी गरिने प्रशासनले जनाएको छ ।
प्रशासनले उपभोक्तालाई म्याद र मूल्य जाँच गरेर मात्र सामान खरिद गर्न आग्रह गर्दै कुनै अनियमितता देखिएमा सम्बन्धित निकायमा जानकारी गराउन अनरोध गरेको छ।


























