बेनी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–२, राखु भगवतिमा प्रहरी चौकीको भवन निर्माण गर्न स्थानीयबासीले निशूल्क जग्गा उपलब्ध गराएका छन् ।भगवतिका राज गिरीले तीन रोपनी जग्गा मंगलबार राखु भगवति प्रहरी चौकीलाई उपलब्ध गराउनुभएको हो ।सरकारी दररेट अनुसार करिब १४ लाख रुपैयाँ मूल्य कायम भएको जग्गा स्थानीय बजारभाउमा बढी पर्ने जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरीक्षक सुर्यबहादुर थापाले बताउनुभयो । जग्गादाता गिरी र उहाँकी श्रीमतिलाई जिल्ला प्रहरी कार्यालयले सम्मान पनि गरेको छ ।जग्गा प्राप्त भएपछि भवन निर्माणका लागि बजेट र योजना माग गरिने उहाँले बताउनुभयो ।
राखु भगवति प्रहरी चौकी हाल भाडाको घरबाट सञ्चालन हुदै आएको छ । म्याग्दीको इलाका प्रहरी कार्यालय दरवाङ, घोडेपानी, बाबियाचौर, गलेश्वर, रत्नेचौर, मंगलाघाट, चिमखोला, तिप्ल्याङ, दाना र घारको प्रहरी इकाईको अझै आफ्नै भवन छैन् ।सामुदायिक भवन र भाडाको घरबाट ती चौकीहरु सञ्चालन भएका छन् । जग्गा प्राप्ति प्रहरी चौकीको भवन निर्माणका लागि मुख्य चुनौति बनेको छ ।सिंगा तातोपानी प्रहरी चौकीको हालै भवन निर्माण भएको छ । बेनीको जिल्ला प्रहरी, कालीपुल, भुरुङ्ग–तातोपानी, मौवाफाँट र ताकम प्रहरी चौकीको आफ्नै भवन रहेका छन् ।


























