
बेनी, २ फागुन । नेपाल मगर विद्यार्थी संघ जिल्ला कार्यसमिति म्याग्दीद्वारा शनिबार आयोजना गरिएको अन्तर माध्यमिक विद्यालय जिल्ला स्तरीय लोकनृत्य प्रतियोगितामा प्रकाश माध्यमिक विद्यालय प्रथम भएको छ । नेपालको प्रथम शहीद क्याप्टेन लखन थापा मगर को १४९औँ स्मृति दिवसको अवसर पारेर आयोजित उक्त प्रतियोगितामा जिल्लाभित्रका विभिन्न विद्यालयका पाँच समूहले सहभागिता जनाएको आयोजकले जनाएको छ ।

प्रतियोगितामा प्रकाश माध्यमिक विद्यालयले मौलिक मगर तथा नेपाली लोकसंस्कृतिमा आधारित आकर्षक समूहगत नृत्य प्रस्तुत गर्दै प्रथम स्थान हासिल गरेको हो । मौलिक भेषभूषा, सांस्कृतिक प्रस्तुति, तालमेल, नृत्यकला, सन्देश तथा समग्र प्रभावकारिताका आधारमा निर्णायक मण्डलले मूल्याङ्कन गरेको थियो ।

दोस्रो स्थान न्यु वेष्टपइन्ट आवासीय मावि ले प्राप्त गरेको छ भने तेस्रो स्थान सामुदायिक माध्यमिक विद्यालयले हात पारेको छ । त्यसैगरी जनजाकृती माध्यमिक विद्यालय र लिटेल गार्डेन एकेडेमी लाई सान्त्वना स्थान प्रदान गरिएको निर्णायक मण्डलका संयोजक डिके चोचाङ्गी मगरले जानकारी दिनुभयो ।

प्रतियोगितामा प्रथम हुने समूहलाई नगद रु. १५,००० सहित ट्रफी र प्रमाणपत्र, द्वितीयलाई नगद रु. १०,००० र प्रमाणपत्र, तृतीयलाई नगद रु. ७,००० र प्रमाणपत्र तथा सान्त्वना स्थान प्राप्त समूहलाई नगद रु. २,००० र प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै नेपाल मगर संघ गण्डकी प्रदेश कार्यसमिति का सदस्य हिराबहादुर पुन मगरले विद्यालय तहदेखि नै विद्यार्थीहरूमा आफ्नै मौलिक संस्कृति, भाषा, भेषभूषा र परम्परागत लोकनृत्यप्रति गर्व गर्ने वातावरण सिर्जना गर्न यस्ता प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले शहीदहरूले देखाएको त्याग, आत्मबल र राष्ट्रनिष्ठा आजको पुस्ताले आत्मसात् गर्न सके मात्र सशक्त र सचेत समाज निर्माण सम्भव हुने उल्लेख गर्नुभयो ।

वि.सं. १९३३ फागुन २ गते राणा शासनविरुद्ध विद्रोह गरेको अभियोगमा मृत्युदण्ड दिइएका क्याप्टेन लखन थापा मगरलाई नेपाल सरकारले वि.सं. २०७२ असोज ३ गते नेपालको प्रथम शहीद घोषणा गरेको थियो । उहाँको योगदानको स्मरण गर्दै हरेक वर्ष विविध रचनात्मक कार्यक्रमहरू आयोजना गर्दै आएको संघले जनाएको छ ।

कार्यक्रममा नेपाल मगर संघकी केन्द्रीय सदस्य बालकुमारी पुन मगर, नेपाल मगर संघ म्याग्दीका अध्यक्ष खमबहादुर थापा मगर, मगर संघ मालिका अध्यक्ष ओमबहादुर रोका मगर, नेपाल मगर विद्यार्थी संघ बागलुङका सचिव प्रदिप थापा मगर, सदस्य मिक्सन श्रीस मगर तथा नेपाल जनजाति पत्रकार महासंघ म्याग्दी शाखाका कोषाध्यक्ष विनोद पुर्जा लगायतको उपस्थिति रहेको थियो ।

आयोजकका अनुसार, यस प्रतियोगितामार्फत शहीद लखन थापा मगरको योगदानको स्मरण गर्नुका साथै विद्यार्थीहरूमा सांस्कृतिक चेतना अभिवृद्धि गर्ने, मौलिक कला संरक्षण गर्ने र नयाँ पुस्तालाई आफ्नो पहिचानप्रति सचेत बनाउने लक्ष्य रहेको छ ।
नेपाल मगर विद्यार्थी संघ म्याग्दीका अध्यक्ष भरत अर्मजा मगरको अध्यक्षता, सचिवालय सदस्य आइस्ना सेरपुजा मगरको स्वागत मन्तव्य तथा संघका सचिव साजन पुन मगरको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

सहभागी समूहहरूले मगर समुदायका पारम्परिक नृत्यसँगै अन्य नेपाली लोकसंस्कृतिमा आधारित गीतमा उत्कृष्ट प्रस्तुति दिएका थिए, जसले दर्शकहरूको मन जित्न सफल भएको आयोजकले जनाएको छ ।
























































