महाशिवरात्रीमा म्याग्दीको गलेश्वरमा दर्शनार्थीको भीड

गलेश्वर, ३ फागुन । म्याग्दीको प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाममा बिहानैदेखि भक्तजनको भीड लागेको छ । नेपालको दोस्रो पशुपतिनाथका नामले परिचित गलेश्वरधाममा महाशिवरात्रि पर्वमा बिहानैदेखि गलेश्वर शिवालय मन्दिरमा भक्तजनले पूजाआराधना गरिरहेका छन् । गलेश्वरधाममा आइतबार बिहानैदेखि म्याग्दीसहित विभिन्न जिल्लाबाट आएका भक्तजनले पूजाआजा गरिरहेको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ ।

शिवरात्रि पर्वको अवसर पारेर गलेश्वरधाममा भगवान् शिव महादेवको स्वयं उत्पत्ति ज्योतिर्लिङ्गमा पूजाअर्चना गर्न म्याग्दीसहित पर्वत, बागलुङ, कास्की, तनहुँ,काठमाडौं,चितवनलगायत जिल्लाबाट श्रद्धालु भक्तजन आएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले बताउनुभयो ।

महाशिवरात्रि पर्वका दिन भक्तजनले शुद्ध भई ‘ॐ नमःशिवाय’मन्त्र जप्दै पूजाअर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो तथा बेलपत्र चढाउने शास्त्रीय मान्यता रहिआएको छ ।


महाशिवरात्रि पर्वलाई भव्य र सभ्यरूपमा मनाउन र पूजा व्यवस्थापनका मन्दिरमा दर्शन गर्न आउने भक्तजनलाई सहज आवतजावतका लागि बेनीबाट प्रवेश हुने सवारीसाधनलाई प्रहरीचौकी नजिक पार्किङ, बजारभित्र पैदलयात्रा गरी मन्दिरमा प्रवेश गर्ने, मन्दिरभित्र पुजाआजा गरी फर्किने गरी व्यवस्थापन गरिएको कोषका उपाध्यक्ष बमबहादुर पुनले बताउनुभयो ।

भक्तजनले निर्जल व्रत, रात्रि जागरण, चार प्रहरको पूजा, शिवलिङ्गमा दुग्धाभिषेक र शिव महिमा कीर्तन गरी शिवपूजा गर्दछन् । शिवरात्रि पूजाको व्रतकालमा भगवान् शिवजीको ध्यान, पुजन र जप गर्ने गरिन्छ । यसै गरी शिवपूजा गर्दा इशान मूर्तिलाई दूधले, अघोर मूर्तिलाई दहीले, वामदेव मूर्तिलाई घ्युले तथा सद्योजात लिङ्गोदेव मूर्तिलाई महले स्नान गराइन्छ ।

बेनी बजारदेखि तीन किलोमिटर उत्तर तथा पूर्वमा अवस्थित पवित्र कालीगण्डकी नदी किनारमाथि उठेर ९ रोपनी क्षेत्रफलको एउटै चक्रशिलामा अवस्थित मन्दिर सत्ययुगमा सतीदेवीको गलापतन भएर गलेश्वर नाम रहन गएको विभिन्न धार्मिक ग्रन्थ तथा पुराणहरूमा उल्लेख गरिएको पाइन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार