मंगलामा एमालेको चुनावी अभियन : जिल्लाको पूर्वाधार र समृद्धिमा जोड

  म्याग्दी न्यूज संवाददाता

म्याग्दी, १० फागुन । यही फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य पदको निर्वाचन नजिकिँदै गर्दा नेपाल कम्युनिष्ट पार्टी (एमाले) मूल निर्वाचन परिचालन कमिटी म्याग्दीको आयोजनामा आइतबार मंगला गाउँपालिकाका विभिन्न टोल, बस्ती र गाउँमा चुनावी आमसभा, घरदैलो अभियान तथा मतदाता भेटघाट कार्यक्रम सम्पन्न भएका छन् ।

एमाले म्याग्दीका अनुसार मंगला गाउँपालिका–१ को कुहुँ र पैयुँपाटा, वडा नम्बर २ को हिदी तथा वडा नम्बर ५ का अर्मन र सिरकुममा निर्वाचन अभियानअन्तर्गत चुनावी सभा, बहस, मतदाता भेटघाट र घरदैलो कार्यक्रम सञ्चालन गरिएको हो ।

कुहुँ र अर्मनका विभिन्न स्थानमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधि सभा सदस्य निर्वाचनमा एमाले म्याग्दीबाट प्रत्यक्षतर्फका उम्मेदवार नेता हरिकृष्ण श्रेष्ठले ‘समृद्ध म्याग्दी र सुखी म्याग्देली’ बनाउने अभियानसहित आफूहरू निर्वाचनमा होमिएको बताउनुभयो । उहाँले म्याग्दीको समग्र विकास र जनताको जीवनस्तर सुधारका लागि स्पष्ट योजना र भिजनसहित एमाले निर्वाचनमा आएको उल्लेख गर्दै पार्टीका उम्मेदवारलाई विजयी गराउन मतदातासमक्ष आग्रह गर्नुभयो ।

त्यसैगरी कार्यक्रममा बोल्दै एमालेका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभाका समानुपातिक उम्मेदवार नरदेवी पुनले फागुन २१ गतेको निर्वाचन देश निर्माणको पक्षमा उभिने शक्तिलाई जिताउने अवसर भएको बताउनुभयो। उहाँले वि.सं. २०५१ सालदेखि एमालेले जनमुखी कार्यक्रममार्फत देशको विकासमा योगदान दिएको उल्लेख गर्दै आफू सांसद र मन्त्री भएका बेला म्याग्दीमा उल्लेख्य बजेट परिचालन गरी विकास निर्माणका काम अघि बढाएको दाबी गर्नुभयो। विगतमा सुरु गरिएका र अधुरा रहेका योजनालाई पूर्णता दिन पनि एमालेको जीत आवश्यक रहेको उहाँको भनाइ थियो ।

कार्यक्रममा एमालेका निर्वतमान केन्द्रीय सदस्य तथा पूर्व सांसद भूपेन्द्रबहादुर थापाले आफ्नो कार्यकालमा म्याग्दीको समग्र विकासका लागि विभिन्न पूर्वाधार निर्माणमा विशेष जोड दिएको बताउनुभयो। उहाँले म्याग्दीलाई हिमाली जिल्लाका रूपमा सूचीकृत गराउन पहल गरिएको र सोही अनुसार सेवासुविधा प्राप्तिका लागि प्रयास भएको उल्लेख गर्नुभयो। साथै सडक विस्तार तथा स्तरोन्नति, विद्यालय भवन निर्माण, पर्यटकीय पदमार्ग, झोलुङ्गे पुल र पक्की मोटरेबल पुलजस्ता योजनाहरू सञ्चालन गरिएको बताउँदै बाँकी पूर्वाधार निर्माणका लागि पनि एमाले उम्मेदवारलाई विजयी गराउनुपर्नेमा जोड दिनुभयो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार