
म्याग्दी, ११ फागुन — पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको यात्रुवाहक बस धादिङमा दुर्घटना हुँदा कम्तीमा १७ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् । आज बिहान करिब १.३० बजे बेनीघाट रोराङ गाउँपालिका–५ भैँसीगौडास्थित पृथ्वीलोकमार्गबाट ग १ ख १४२१ नम्बरको बस अनियन्त्रित भई त्रिशूली नदीमा खसेको हो ।
सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता विष्णुप्रसाद भट्टका अनुसार हालसम्म घटनास्थलबाट १७ जनाको शव निकालिएको छ । दुर्घटनामा घाइते भएका २४ जनालाई उद्धार गरी उपचारका लागि विभिन्न अस्पताल पठाइएको छ । मृतक तथा घाइतेहरूको पहिचान खुल्न बाँकी रहेको र दुर्घटनाको स्पष्ट कारण अझै खुल्न सकेको छैन।
घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र नेपाली सेनाको टोली उद्धार कार्यमा खटिएको छ । सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन आदमघाटबाट सशस्त्र प्रहरी नायब उपरीक्षक सुनिल गिरिको नेतृत्वमा खटिएको टोली तथा विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट आएका गोताखोरसहितको टोलीले नदीमा बेपत्ता हुन सक्ने अन्य यात्रुको खोजी तथा उद्धार कार्य जारी राखेको जनाएको छ ।
दुर्घटनामा मृतक र घाइतेहरूको विस्तृत विवरण आउन बाँकी छ । दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।


















































