मतदाता नामावलीमा नाम भए सरकारी कागजातबाट मतदान गर्न पाइने

म्याग्दी, १५ फागुन । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदातालाई केही सहज व्यवस्था गरिएको छ । निर्वाचन आयोग ले मतदाता परिचयपत्र साथमा नभए पनि अन्य सरकारी कागजातका आधारमा मतदान गर्न पाउने व्यवस्था स्पष्ट पारेको छ ।

मतदाता नामावलीमा नाम समावेश भएका नागरिकले मतदान केन्द्रमा उपस्थित भई आफ्नो पहिचान खुल्ने सरकारी कागजात प्रस्तुत गरेपछि मतदान गर्न पाउने छन् । यसले मतदाता परिचयपत्र हराएको, बिग्रिएको वा साथमा ल्याउन नसकिएको अवस्थामा समेत नागरिकको मताधिकार सुनिश्चित गर्ने अपेक्षा गरिएको छ ।

प्रतिनिधि सभा सदस्य निर्वाचन निर्देशिका २०८२ को दफा ४३ र दफा ८४ मा मतदाता मतदान गर्न जाँदा मतदाता परिचयपत्र साथमा लिनुपर्ने उल्लेख छ । तर सोही निर्देशिकाले वैकल्पिक रूपमा अन्य सरकारी कागजात देखाएर पनि मतदान गर्न सकिने व्यवस्था गरेको आयोगले जनाएको छ ।

मतदाता परिचयपत्र नभएको अवस्थामा नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, जग्गाधनी प्रमाणपूर्जा, सवारी चालक अनुमतिपत्र लगायत यी कागजातमार्फत मतदाताको पहिचान सुनिश्चित गरी मतदान प्रक्रियामा सहभागी गराइने निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचनलाई निष्पक्ष, भयरहित र व्यवस्थित बनाउन आचारसंहिताको पूर्ण पालना गराउन गृह मन्त्रालय ले देशभरका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायहरूलाई निर्देशन दिएको छ । मतदानको दिन सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाइने र कुनै पनि अवाञ्छित गतिविधि हुन नदिन सतर्कता अपनाइने जनाइएको छ ।

निर्वाचन आयोगले मतदातालाई समयमै आफ्नो मतदान केन्द्रमा पुग्न, आवश्यक कागजात साथमा लिन र शान्तिपूर्ण रूपमा मतदान प्रक्रियामा सहभागी हुन आग्रह गरेको छ ।

फागुन २१ गते देशभर प्रतिनिधिसभा सदस्य चयनका लागि मतदान हुँदैछ। लोकतान्त्रिक अभ्यासको महत्वपूर्ण अवसरका रूपमा रहेको यस निर्वाचनमा व्यापक सहभागिता जनाउन सबै मतदातालाई आह्वान गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार