दरबाङ बजार अनुगमन(तस्बिर/भिडिओ)

  म्याग्दी न्युज संवाददाता

दरबाङ । म्याग्दीको मालिका गाउँपालिका –६, दरबाङ बजारमा सञ्चालित पसलहरुको अनुगमन भएको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीको नेतृत्वमा बुधबार दरबाङ बजारमा सञ्चालित विभिन्न पसलहरु, होटल, रेष्टुरेण्ट तथा बेकरीको अनुगमन र निरीक्षण गरिएको हो ।जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा एकिकृत सेवा कार्यालय म्याग्दी, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङ ,म्याग्दी उद्योग वाणिज्य संघ मालिका इकाई टोलीले दरबाङ बजारमा सञ्चालित पसलहरुको अनुगमन गरेकाे हाे।

भिडिओ…

दैनिक उपभोग्य सामानहरुमा प्रयोगको वर्तमान अवस्था पत्ता लगाएर बिक्रेता र क्रेताहरुलाई सचेत बनाउने उद्देश्यसहित बजार अनुगमन गरिएको थियो ।अनुगमन टोलीले दरबाङमा सञ्चालित किराना तथा खाद्यान्न (३१), खाजाघर, होटल तथा रेष्टुरेण्ट (१०), फ्रेस हाउस (४), औषधी पसल (३)सहित कुल ४८ वटा पसलहरुमा अनुमगन गरेको जनाएको छ । अनुगमनको क्रममा भेटिएका म्याद नाघेका दैनिक उपभोग्यलगायत सामानहरुलाई जफत गरि छुट्टै भण्डारण सँगै नष्ट गरिएको जिल्ला प्रशासन कार्यालय म्याग्दीले जनाएको छ ।

अनुगमन गरिएका पसलहरुमा म्याद सकिएको सामानहरु बिक्री वितरण गरेको, पसल र होटल तथा रेष्टुरेण्टमा सरसफाइ नगरेको, मूल्यसूची र साईनबोर्ड नटाँसेको, एउटा नामको पसल दर्ता गरी अन्य प्रकृतिका सामानहरु बिक्री गरेको, लेबल नटाँसको सामान बिक्रीमा राखेको र पसल दर्ता नगरिकनै सञ्चालन गरेको जस्ता कमी कमजोरीहरु भेटिएका छन् । अनुगमनमा भेटिएका कमजोरीलाई तत्कालै सुधार गर्न निर्देशन दिइएको म्याग्दीका सहायक प्रमुख जिल्ला अधिकारी कुल प्रसाद आचार्यले बताउनुभयो । पालिकाले विगतको समयमा भएको बजार अनुगमनको कारणले यसपालि भने केही सुधारका सङ्केतहरु देखिएको भए पनि अझै थप सुधार गर्नुपर्ने आवश्यकता रहेको अनुगमन टोलीले जानकारी दिएको छ । पसलहरुको समय समयमा अनुगमन गरी चुस्तदुरुस्त बनाउनुका साथै उपभोक्तालाई पनि सचेत बनाउनुपर्ने आवश्यक देखिएको सहायक प्रजिअ आचार्यको भनाइ छ । टाेलीमा सम्सेर घर्ती क्षेत्री ,तेजेन्द्र लम्साल ,सागर सुवेदी  ,सुनिल अर्याल ,अमृत सापकाेटा ,श्यामबहादुर कुमाल लगायतकाे सहभागीता रहेकाे थियाे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार