
बेनी । नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा म्याग्दीका मनमोहन छन्त्यालले उम्मेद्वारी घोषणा गर्नुभएको छ । नेपाल आदिवासी जनजाति महासंघको ११औँ राष्ट्रिय महाधिवेशन यही चैत ५ र ६ गते काठमाडौंमा हुँदैछ ।शुक्रबार महासंघको अध्यक्ष पदमा उम्मेद्वारी घोषणा गर्नुभएका छन्त्याल संघका पूर्व अध्यक्ष समेत हुनुहुन्छ । लामो समयदेखि नेपालका आदिवासी जनजातिहरूका सामूहिक अधिकार, पहिचान र प्रतिनिधित्वका सवालमा निरन्तर सक्रिय छन्त्याल म्याग्दीको मालिका गाउँपालिका–४,छाप गाउँमा जन्मनुभएको हो ।
राज्यका सबै निकायमा समानुपातिक समावेशी प्रतिनिधित्व सुनिश्चित गर्नु, आदिवासी जनजातिको भूमि, भाषा, संस्कृति र पहिचानको संरक्षण तथा प्रवर्द्धनलाई आफुले प्राथमिकता दिने बताउनुभयो । सामाजिक सेवामा समेत सक्रिय छन्त्यालले महासंघको अध्यक्ष पदमा आफुलाई जिताउन सहयोगको अपिल गर्नुभएको छ । छन्त्यालले भन्नुभभएको छ ,‘‘करिब २५ वर्षदेखि निरन्तर आदिवासी जनजातिको आन्दोलन र अभियानमा सधैं अग्रपंक्तिमा रही आएको छु । नेपाल छन्त्याल संघको २ कार्यकाल नेतृत्व गरिसकेको, नेपाल आदिवासी जनजाति महासंघको एक कार्यकाल संघीय परिषद सदस्यको रुपमा सक्रिय भूमिका निर्वाह गरी नेपाल सरकारको आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको सञ्चालक परिषदको सदस्यको रुपमा कार्यसम्पादन गरिरहेको पनि पत्रकार साथीहरु मार्फत जानकारी गराउँदछु । ’’
महाधिबेशको उद्घाटन समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट हुने कार्यक्रम रहेको महासंघले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । महाधिबेशनले अध्यक्ष सहित २१ जनाको सचिवलय गठन निर्वाचित गर्ने छ । नेपाल आदिवासी जनजाति महासंघमा ५६ जातीय संस्थाले संगठन सदस्यता प्राप्त गरेका छन् । बि.सं.२०४७ सालमा स्थापना भएको नेपाल आदिवासी जनजाति महासंघ नेपालका आदिवासी जनजातिहरूको छाता संगठन हो ।महासंघले आदिवासी जनजातिहरूको सामूहिक अधिकार, प्राकृतिक स्रोतमा अग्राधिकार, पहिचान, भूमिअधिकार तथा जलवायु परिवर्तनका प्रभाव न्यूनीकरणका विषयमा निरन्तर आवाज उठाउँदै आएको जनाएको छ ।



















































