८४ औं जन्मोत्सवमा विद्यालयलाई आर्थिक सहयोग

  म्याग्दी न्यूज संवाददाता

बेनी । म्याग्दीको मालिका गाउँपालिका–४, च्युरीबोट र ओखरबोटका बासिन्दाहरुले ८४ औं जन्मोत्सवको अवसरमा दुई विद्यालयलाई आर्थिक सहयोग गर्नुभएको छ । च्युरीबोटका टिकप्रसाद पुन र दिलमाया पुन दम्पत्तीले चौरासी वर्ष पुगेको अवसरमा च्युरीबोट स्थित सिद्धार्थ माविलाई एक लाख ८५ हजार ५५५ रपैयाँ सहयोग गर्नुभएको छ । भने सोही विद्यालयलाई शुक्रबार ८४ पुजा गर्नुभएका ओखरबोट निवासी टेकबहादुर घर्ती मगर र हिरामति घर्ती मगरले ६० हजार रुपैयाँ र उहाँका आफन्तहरुबाट बीस हजार गरी ८० हजार रुपैयाँ सहयोग गर्नुभएको विद्यालयका शिक्षक छकप्रसाद घर्ती मगरले जानकारी दिनुभयो ।

८४ वर्ष पुगेको अवसरमा पुजाआजा र भोज भतेरमा हुने अनावश्यक तथा फजुल खर्च बचाएर गाउँकै विद्यालयलाई सहयोग गरेका हुन् । ८४ पुजा गर्नुभएका ओखरबोट निवासी टेकबहादुर घर्तिमगर र हिरामति घर्तिमगरले ओखरबोट माविलाई ७५ हजार रुपैयाँ , उहाँहरुका आफन्तहरुले थप १५ हजार रुपैयाँ उपलब्ध गराउनुभएको तामाखानी युवा क्लबका अध्यक्ष ओम पुनले जानकारी दिनुभयो । चौरासी, बिवाह, लाहुरे स्वागत, तिहारमा देउसीभैलो खेलेर आर्थिक स्रोत जुटाएर नीजी स्रोतका शिक्षकको तलब व्यवस्थापन, कम्प्युटर कक्षा सञ्चालन, भौतिक र शैक्षिक विकासमा परिचालन गरेका छन् । ८४ औं जन्मोत्सवमा विद्यालयलाई आर्थिक सहयोग गरेर पुण्यको काम गरेको भन्दै सिद्धार्थ माविका प्रअ ललितबहादुर घर्ती र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रेशम पुनले सहयोगीदातालाई धन्यवाद व्यक्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार