म्याग्दीमा वन डढेलो व्यवस्थापनबारे पत्रकारसँग अन्तरक्रिया

  धनिलाल गर्बुजा

बेनी, २ फागुन । वन डढेलो नियन्त्रण तथा व्यवस्थापनबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले डिभिजन वन कार्यालय म्याग्दीले सोमबार पत्रकारहरूसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । “वन डढेलो व्यवस्थापन सप्ताह–२०८२” को अवसरमा आयोजित कार्यक्रममा वन डढेलो नियन्त्रणका लागि तीन तहका सरकार, सुरक्षा निकाय तथा स्थानीय समुदायबीच सहकार्यको आवश्यकता बारे विस्तृत छलफल गरिएको थियो ।

कार्यक्रममा वन क्षेत्रमा लाग्ने डढेलोले वातावरण, जैविक विविधता, वन्यजन्तु तथा मानव जीवनमा गम्भीर असर पार्ने भएकाले यसको नियन्त्रणका लागि सबै पक्ष सचेत र सक्रिय हुनुपर्ने डिभिजन वन कार्यालय म्याग्दीका प्रमुख बसन्त केशव अधिकारीले बताउनुभयो । उहाँले पछिल्ला वर्षहरूमा सुक्खा मौसम, मानवीय लापरबाही तथा जलवायु परिवर्तनका कारण वन डढेलोका घटनाहरू बढ्दै गएको उल्लेख गर्नुभयो ।

अधिकारीका अनुसार वन क्षेत्रमा घाँस–दाउरा संकलन, खेतीपातीका लागि झाडी जलाउने, चुरोट तथा आगोको असावधानीपूर्वक प्रयोग जस्ता कारणले डढेलो लाग्ने गरेको छ । “वन जोगाउनु भनेको वातावरण, पानीका स्रोत र जीवजन्तु जोगाउनु हो,” उहाँले भन्नुभयो, “त्यसैले वन डढेलो नियन्त्रणमा सबैको जिम्मेवारी बराबरी हुन्छ ।”

नेपाल पत्रकार महासंघ म्याग्दीका अध्यक्ष हरीकृष्ण गौतमले वन डढेलो नियन्त्रणका लागि जनचेतना अभिवृद्धि अत्यन्त महत्वपूर्ण हुने बताउनुभयो । उहाँले वन क्षेत्रमा आगजनी गर्दा हुने सजाय तथा कानुनी कारबाहीबारे स्पष्ट जानकारी दिन आवश्यक रहेको धारणा व्यक्त गर्दै सञ्चारमाध्यममार्फत सचेतना फैलाउन सके सर्वसाधारणमा जिम्मेवारीबोध हुने उल्लेख गर्नुभयो ।

डिभिजन वन कार्यालय म्याग्दीका अनुसार जिल्लाका ६ वटै स्थानीय तहमा रहेका सामुदायिक वन तथा स्थानीय निकायमार्फत वन उपभोक्तालाई लक्षित सचेतना कार्यक्रम सञ्चालन गरिनेछ । जोखिमयुक्त क्षेत्रको सरसफाइ, विद्यालयस्तरमा शिक्षा, समुदायमा डढेलो नियन्त्रण समूह गठन, अग्निरेखा (फायरलाइन) निर्माण लगायतका गतिविधि सञ्चालन गर्ने योजना रहेको छ ।

वन ऐन, २०७६ अनुसार राष्ट्रिय वनमा आगो लगाउने व्यक्तिलाई आगजनीबाट भएको क्षतिको बिगो असुल गरिनुका साथै तीन वर्षसम्म कैद वा ६० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ । त्यसैगरी मुलुकी अपराध (संहिता) ऐन, २०७४ अनुसार सार्वजनिक सम्पत्तिमा आगो लगाई आपराधिक उपद्रव गरेको ठहरिएमा दुईदेखि पाँच वर्षसम्म कैद र २० हजारदेखि ५० हजार रुपैयाँसम्म जरिवाना हुन सक्ने व्यवस्था छ ।
यस्तै राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार वन क्षेत्रमा आगो लगाएर क्षति पु¥याएमा वा कुनै प्रकारको हानी नोक्सानी पु¥याएमा १० हजार भन्दा बढीको बिगो भए बिगोको दोब्वर जरिवाना वा एक वर्ष कैद वा दुवै सजाय हुन सक्ने प्रावधान रहेको छ ।

म्याग्दीमा प्राकृतिक कारणभन्दा मानवीय कारणले बढी डढेलो लाग्ने गरेको तथ्यांकले देखाएको छ । जिल्लामा करिब ६५ प्रतिशत डढेलो चैत र वैशाख महिनाको मध्यतिर लाग्ने गरेको जनाइएको छ । पछिल्ला वर्षहरूमा डढेलोका घटनाहरू बढ्दै जाँदा वनस्पति, जीवजन्तु तथा जैविक विविधतामा क्षति पुग्नुका साथै वायु प्रदूषणसमेत बढ्दै गएको छ ।

डिभिजन वन कार्यालयले गाउँ–गाउँमा सचेतना सामग्री वितरण, स्टीकर टाँस्ने, माइकिङ गर्ने, रेडियो तथा अन्य सञ्चारमाध्यमबाट सूचना तथा सन्देश प्रसारण गर्ने, फायरलाइन निर्माण गर्ने, पातपतिङ्गर हटाउने तथा डढेलो नियन्त्रणसम्बन्धी अभ्यास (डेमो) कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।

डढेलो जोखिमको दृष्टिकोणले नेपालको ७७ जिल्लामध्ये म्याग्दी ३०औँ स्थानमा रहेको बताइएको छ । लामो समयसम्म खडेरी पर्नु, पानीका मुहान सुक्नु, समयमा वर्षा नहुनु तथा तापक्रम बढ्दै जानुजस्ता कारणले पछिल्ला दिनमा वन डढेलोका घटनाहरू बढ्दै गएको सम्बन्धित निकायले जनाएको छ ।

डिभिजन वन कार्यालय म्याग्दीले “वन डढेलो व्यवस्थापन सप्ताह २०८२” को अवसरमा विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै वन संरक्षणप्रति स्थानीय समुदायलाई थप सचेत बनाउने लक्ष्य राखेको जनाएको छ । कार्यालयका अनुसार वन क्षेत्र सुरक्षित राख्न नागरिकको सचेतना र सहभागिता नै सबैभन्दा प्रभावकारी उपाय हुने विश्वास गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार