टिका पुर्जा पुनमगर रघुगंगा पुनमगर समाजको अध्यक्षमा चयन

म्याग्दी, ५ फागुन । म्याग्दीको रघुगंगा गाउँपालिकामा नेपाल पुन मगर समाजको ‘प्रथम पालिका अधिवेशन’ बुधबार सम्पन्न भएको छ । दर्मिजामा आयोजित अधिवेशनले टिका पुर्जा पुन मगरको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो । अधिवेशनको उद्घाटन नेपाल पुन मगर समाजका केन्द्रीय अध्यक्ष खमबहादुर गर्बुजा पुन मगरले गर्नुभएको थियो ।

नवगठित कार्यसमितिको उपाध्यक्षमा चेतन गर्बुजा पुन मगर, सचिवमा विनु राम्जाली पुन मगर, सह–सचिवमा दिवा शेर्पुन्जा पुन मगर र कोषाध्यक्षमा रेश्मी फगामी पुन मगर चयन भएका छन् । सदस्यहरूमा मोहन गर्बुजा पुन मगर, एकेन्द्र थजाली पुन मगर, अंकित पुन मगर, सन कुमारी पुन मगर, करूणा गर्बुजा पुन मगर, शिव पाईजा पुन मगर र विनिता पुन मगर रहेका छन् । कार्यसमितिमा एक जना सदस्य भने आगामी बैठकबाट मनोनयन गरिने जिल्ला कार्यसमिति म्याग्दीका सचिव साजन पुन मगरले जानकारी दिनुभयो ।

अधिवेशनलाई सम्बोधन गर्दै केन्द्रीय अध्यक्ष खमबहादुर गर्बुजा पुन मगरले मगर समुदायलाई विभाजन गर्ने प्रयास असफल बनाउन सबै एकताबद्ध हुनुपर्ने बताउनुभएको छ । पछिल्लो समय मगर समुदायलाई कमजोर पार्ने गतिविधि बढ्दै गएको उल्लेख गर्दै उहाँले एकताको विकल्प नभएको स्पष्ट पार्नुभयो । उहाँले पुन मगर समुदायका मौलिक कलासंस्कृतिको संरक्षणमा विशेष ध्यान दिनुपर्नेमा जोड दिँदै ती सांस्कृतिक सम्पदालाई स्थानीय, प्रदेश तथा संघीय सरकारमार्फत सूचीकृत गराउन आवश्यक रहेको बताउनुभयो । पहिचान र संस्कृतिको संरक्षणबाटै समुदायको सशक्तीकरण सम्भव हुने उहाँको भनाइ थियो ।

कार्यक्रममा मगर संघ यूकेका पूर्व महासचिव तथा एनआरएनए यूकेका पूर्व अध्यक्ष योगकुमार फगामी पुन मगर, पुन मगर समाज यूकेका संस्थापक अध्यक्ष बिल पुर्जा पुन मगर, नेपाल मगर संघ म्याग्दीका अध्यक्ष खम थापा मगर, नेपाल पुन मगर समाज म्याग्दीका अध्यक्ष निरज शेरपुञ्जा पुन मगर, रघुगंगा गाउँपालिका–७ का वडा अध्यक्ष थकबहादुर पाईजा पुन मगर, वडा नम्बर ५ का अध्यक्ष मनकुमार शेरपुञ्जा पुन मगर तथा नेपाल पुन मगर समाज अन्नपूर्ण गाउँपालिका समितिका अध्यक्ष टकबहादुर पुन मगरलगायतले मन्तव्य राख्नुभएको थियो ।

समाजको संगठन सुदृढीकरण, समुदायको हकहित संरक्षण तथा सामाजिक सांस्कृतिक पहिचानको प्रवर्द्धन गर्ने उद्देश्यका साथ अधिवेशन सम्पन्न भएको आयोजकले जनाएको छ ।

रघुगंगा पुन मगर समाजको आयोजनामा सम्पन्न कार्यक्रममा अध्यक्ष टिका पुर्जा पुन मगरको अध्यक्षता, कोषाध्यक्ष रेश्मी पुन मगरले स्वागत मन्तव्य, वडा नम्बर ७ का वडा सदस्य चेतन गर्बुजा पुन मगरले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा झाँकीसहित विभिन्न सांस्कृतिक नृत्यहरू प्रस्तुत गरिएका थिए ।

नवगठित कार्यसमितिले समुदायको समग्र विकास, सामाजिक एकता अभिवृद्धि तथा परम्परागत संस्कृति संरक्षणमा सक्रिय भूमिका खेल्ने अपेक्षा गरिएको छ । नवनिर्वाचित अध्यक्ष टिका पुर्जा पुन मगरले नयाँ नेतृत्वप्रति विश्वास व्यक्त गर्दै संगठनलाई अझ सशक्त, प्रभावकारी र एकताबद्ध बनाउने प्रतिबद्धता जनाउनुभएको छ। फोटो : शिव पाईजा

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार