योगकुमार फगामीद्वारा दर्मिजाका विभिन्न संस्थालाई आर्थिक सहयोग

  धनिलाल गर्बुजा

म्याग्दी, ५ फागुन । म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगखोला स्थित बेग स्थायी घर भई हाल बेलायतमा बसोबास गर्दै आउनुभएका सामाजिक व्यक्तित्व योगकुमार फगामीले विभिन्न सामाजिक तथा सांस्कृतिक संस्थाहरूलाई व्यक्तिगत रूपमा आर्थिक सहयोग प्रदान गर्नुभएको छ । फगामीले स्थानीय स्तरमा क्रियाशील संस्थाहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले बिहिबार नगद सहयोग हस्तान्तरण गर्नुभएको हो । उहाँले दीपशिखा युवा क्लबलाई रु ५,०००, प्रगतिशील आमा समूहलाई रु ५,००० तथा सिद्धभूमि नौमती बाजा समूहलाई रु ३,००० सहयोग प्रदान गर्नुभएको रघुगंगा पुन मगर समाजका सदस्य शिव पाईजा पुन मगरले जानकारी दिनुभयो ।

सहयोग रकम ग्रहण गर्दै सम्बन्धित संस्थाका प्रतिनिधिहरूले फगामीप्रति उच्च सम्मान व्यक्त गरेका छन् । उनीहरूले उहाँलाई सहयोगी मनका धनी तथा समाजप्रति सकारात्मक सोच राख्ने व्यक्तित्वका रूपमा प्रशंसा गर्दै सम्पूर्ण संस्थाको तर्फबाट धन्यवाद तथा आभार प्रकट गरेका छन् ।

संस्थाका पदाधिकारीहरूले “उहाँको सहयोगले संस्थागत गतिविधि सञ्चालनमा थप उर्जा मिल्नेछ, साथै समुदायको मौलिक कला, संस्कृति तथा पहिचान संरक्षणमा महत्वपूर्ण योगदान पुग्नेछ” भन्ने विश्वास व्यक्त गरेका छन् ।

यसैबीच, प्रगतिशील आमा समूह र दीपशिखा युवा क्लबले सहयोगको कदरस्वरूप फगामीलाई मायाको चिनो प्रदान गर्दै सम्मान गरेका थिए । कार्यक्रममा सहभागीहरूले उहाँको निरन्तर सहयोग, सद्भाव र समाजप्रतिको समर्पणको खुलेर प्रशंसा गरेका थिए ।

ब्रिटिस गोर्खा सैनिक सेवाबाट अवकाशपछि बेलायतमा बसोबास गर्दै आउनुभएका फगामी विभिन्न संघ संस्थामार्फत सामाजिक सेवामा सक्रिय रहँदै आउनुभएको छ । उहाँ गैरआवासीय नेपाली संघ (एनआरएनए) यूके, म्याग्दी प्रवासी नेपाली संघ (मोना) यूके तथा वेगखोला कल्याणकारी समाज यूकेका पूर्व अध्यक्षसमेत रहनुभएको छ । प्रवासमा रहेर पनि नेपाली समुदाय र जन्मभूमिप्रति निरन्तर योगदान दिँदै आउनु भएका उहाँ लोकप्रिय समाजसेवीका रूपमा परिचित हुनुहुन्छ ।

हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेपाल आउनु भएका फगामी रघुगंगा नेपाल पुन मगर समाजको आयोजित ‘प्रथम पालिका अधिवेशन’ मा सहभागी हुन बुधबार दर्मिजा पुग्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार