गलेश्वरधाम आमा समूहको अध्यक्षमा फुलकुमारी रोका पुन निर्विरोध चयन

  धनिलाल गर्बुजा

म्याग्दी, ७ फागुन । म्याग्दीको बेनी नगरपालिका–९ स्थित धार्मिक तथा पर्यटकीय क्षेत्र गलेश्वरमा सक्रिय गलेश्वरधाम आमा समूहको अध्यक्षमा फुलकुमारी रोका पुन निर्विरोध चयन हुनुभएको छ । शनिबार सम्पन्न समूहको १५औँ वार्षिक साधारण सभा तथा ५औँ अधिवेशनले रोकाको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो ।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा विन्दु कार्की पुर्जा, सचिवमा निशा जिसी महत, सह–सचिवमा नविना कार्की र कोषाध्यक्षमा मनु फगामी चयन हुनुभएको छ । त्यसैगरी सदस्यहरूमा पुष्पा साप्कोटा, मनिता पुन, नौकुमारी पाईजा, चाहाना खत्री, देवी पाईजा, दिलकुमारी घिमिरे पुरी, जविना सुबेदी र हिराकुमारी सेन्चुरी चयन भएका छन् । सल्लाहकारमा कुमारी रोका, रविना भण्डारी र कुमारी पुन रहनुभएको सचिव निशा जिसी महतले जानकारी दिनुभयो ।

कार्यक्रमको उद्घाटन गर्दै समूहकी संस्थापक अध्यक्ष जमुना तिलिजाले महिलाको सहभागिता विना समाजको समृद्धि सम्भव नहुने बताउँदै महिला समूहहरूले आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा पुर्‍याएको योगदान प्रशंसनीय रहेको उल्लेख गर्नुभयो । उहाँले महिलाहरूको एकता र सक्रियता अनुकरणीय रहेको भन्दै आगामी दिनमा पनि समाज सेवा र महिला सशक्तीकरणमा निरन्तर अघि बढ्न आग्रह गर्नुभयो ।

नवनिर्वाचित अध्यक्ष फुलकुमारी रोकाले आफ्नो कार्यकालमा समूहलाई थप सक्रिय, संगठित र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले गलेश्वरधामको धार्मिक तथा पर्यटकीय महत्व उजागर गर्दै स्थानीय समुदायको समग्र विकासमा योगदान पुर्‍याउने योजनालाई प्राथमिकता दिने बताउनुभयो ।

कार्यक्रममा गलेश्वर क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मी, गलेश्वरधाम जेष्ठ नागरिक आश्रमका अध्यक्ष बमबहादुर पुन, स्थानीय समाजसेवी बालकुमार लामिछाने समुहकी सदस्य देवी पाईजा लगायतले समूहको सक्रियता र योगदानको प्रशंसा गर्दै आगामी दिनमा अझ प्रभावकारी रूपमा काम गर्न सुझाव दिएका थिए ।

समूहकी अध्यक्ष रोकाको अध्यक्षता, उपाध्यक्ष विन्दु कार्की पुर्जाको स्वागत र सचिव निशा जिसी महतको सञ्चालनमा सम्पन्न कार्यक्रममा आर्थिक प्रतिवेदन कोषाध्यक्ष मनु फगामीले प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा स्थानीय आमा–दिदीबहिनीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार