
बेनी, १५ चैत । म्याग्दीको बेनीमा पार्किङ गरी राखिएको बोलेरो जिपमा आगजनी गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार घटनामा संलग्न रहेको आरोपमा पर्वतको जलजला गाउँपालिका–७ स्थित धाईरिङ बस्ने २२ वर्षीय राजकुमार परियारलाई पक्राउ गरिएको हो । परियारलाई चैत १२ गते दिउँसो करिब १.३० बजे बेनी नगरपालिका–२ क्षेत्रबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
यही चैत १० गते बिहान करिब ५ः३० बजे बेनी नगरपालिका–२ हाडेभिरमा पार्किङ गरिएको ग २ च १०५४ नम्बरको बोलेरो जिपमा अज्ञात व्यक्तिले आगजनी गरेको सूचना प्राप्त भएको थियो । सूचना प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिँदै घटनाबारे अनुसन्धान अघि बढाएको थियो ।
अनुसन्धानका क्रममा उक्त घटनामा संलग्न रहेको आरोपमा परियारलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका परियारलाई आपराधिक उपद्रव सम्बन्धी कसुरमा म्याग्दी जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी प्रहरी निरीक्षक सागर तिमिल्सिनाले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार बेनी नगरपालिका–७ निवासी सुमन श्रेष्ठको उक्त बोलेरो जिपमा आगो लगाइएको र गाडीका भित्री भाग जलेर नष्ट भएको छ ।


















































